कतारमा नेपाल र ओमानबीच मैत्रीपूर्ण फुटबल हुँदै

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १४ : ०६
कतारमा नेपाल र ओमानबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं । साफ च्याम्पिनसिपको अन्तिम तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।नेपाल र ओमानबीचको खेल आगामी आइतबार कतारको दोहामा नेपाली समय अनुसार राति पौने १० बजे खेल सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । कतारमा दुई साता अभ्यासपछि नेपाली टोली असोज ११ गते त्यहिँबाट साफ च्याम्पिनसिप आयोजनास्थत माल्दिभ्स जानेछ ।

माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालले पहिलो दिननै साविक विजेता समेत रहेको माल्दिभ्सको सामना गर्नेछ । राष्ट्रिय टोलीले शनिबार दोहामा स्थानीय अल बिदा स्पोर्टस् क्लबसँग २-०ले विजयी भएको थियो ।

कतार जानुअघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपाल र भारतबीच भदौ १७ गते भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपाल २-१ ले पराजित भएको थियो । यसपटक साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते खेल हुनेछ ।

नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको यसपटकको च्याम्पियनसिप राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष २ टोलीले असोज ३० गते फाइनल खेल्नेछन् ।