जतिसक्दो चाँडो छात्राहरु पनि विद्यालय जान पाउँछन् : तालिबान

एजेन्सी

मंगलबार, ०५ असोज २०७८, १४ : ४९
जतिसक्दो चाँडो छात्राहरु पनि विद्यालय जान पाउँछन् : तालिबान

अफगानिस्तान । तालिबानले छात्राहरुलाई जतिसक्दो चाँडो विद्यालय जान अनुमति दिने बताएको छ। तालिबानका प्रवक्ता जबिल्लाह मुजाहिदले काबुलमा भने, ‘हामी यसलाई अन्तिम रूप दिइरहेका छौँ। जतिसक्दो चाँडो यसबारे निर्णय गर्नेछौँ।’

गत शनिबारदेखि अफगानिस्तानमा छात्रहरुका लागि विद्यालय खुला भएको थियो। तालिबान सत्ताको शिक्षा मन्त्रालयले वक्तव्य जारी गरेर छात्रहरुका लागि विद्यालय खुलेको बताएता पनि छात्राहरुका सम्बन्धमा भने केही बताएको थिएन।

यस्तै तालिबान प्रवक्ताले अन्य मन्त्रालयको पनि घोषणा गरेका छन। तर अझै पनि महिलालाई भने मन्त्रिमण्डलमा समावेश गरिएको छैन। प्रवक्ता मुजाहिदले महिला मामिला मन्त्रालयको बारेमा केही भनेका छैनन्।

यसअघि गत शनिबार मात्रै सत्तामा आएपछि तालिबानले अफगानिस्तानको महिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा नैतिकता सम्बन्धी (सद्गुण र दुर्गुण) मन्त्रालय स्थापना गरेको थियो।

तालिबान सरकारको अन्तरिम नियुक्ति यस महिनाको सुरुमा गरिएको थियो। अहिलेसम्म नियुक्त गरिएका सबै मन्त्रीहरु तालिबानसँग सम्बन्धित छन्।

गैरतालिबान जनतालाई पनि तालिबान सरकारमा मन्त्री पद प्राप्त गर्न सकिने बताइएता पनि अहिलेसम्मको अवस्थामा भने त्यस्तो पाइएको छैन।

प्रतिक्रिया दिनुहोस