तीन क्लब राष्ट्रिय महिला लिगमा सिधै प्रवेश

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १६ : २२
तीन क्लब राष्ट्रिय महिला लिगमा सिधै प्रवेश

काठमाडौं । अखिल नेपाल फुटबस संघ एन्फाले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको छ । एन्फाले यसपटक आयोजना हुने राष्ट्रिय महिला लिग(२०७८) का लागि पहिलो संस्करणको मोफसलका तीन क्लबलाई सिधै प्रवेश दिएको हो । 

प्रतियोगिता नियमावलीमा तीन क्लबलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको छ । एन्फाले आयोजना गर्ने ‘उपमेयर कप २०६८ राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता’ ४ कात्तिकबाट सुरु हुँदैछ । राष्ट्रिय लिगको मिति भने तय गरिएको छैन । 

एन्फाले राष्ट्रिय लिगमा यसअघि तीन विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लब लाई सिधै प्रवेश गराएको थियो । जहाँ उपमेयर कपबाट चार टोली राष्ट्रिय लिगका लागि छनोट भएका थिए । 

एन्फाले आयोजना गरेको उपमेयर कपबाट गत सिजन वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डीगढी नगरपालिका उदयपुर राष्ट्रिय लिगमा छनोट भएका हुन् । 

राष्ट्रिय लिगमा खराब प्रदर्शन गरेको चौदण्डीगढीबाहेक एन्फाले अन्य तीन टोलीलाई यसपटक राष्ट्रिय लिगमा सिधै प्रवेश गराएको हो । प्रतियोगिता नियमावलीको परिच्छेद नम्बर २ को नियम ५० सहभागितामा भनिएको छ ।  

‘यस प्रतियागितामा अघिल्लो वर्ष ७ माघदेखि ७ फागुनसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको राष्ट्रिय महिला लिग(२०७७)मा सहभागी भएका चार पालिका टिम ९वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ र चन्द्रपुर नगरपालिका, रौतहट २०७८ सालमा आयोजना हुने राष्ट्रिय महिला लिगमा सहभागीता जनाउने भएकाले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।’

एन्फाको यो नियमवलीसँगै आगामी राष्ट्रिय महिला लिग(२०७८) मा क्लब संख्या आठ हुने भएको छ । यसअघि सात क्लब थिए । एन्फाले उपमेयर कपमा सहभागी क्लबले अनिवार्य खेलाडीको दुर्घटना बिमा गरेको हुनुपर्ने र कोरोना खोपको पूर्ण डोज लगाएको वा ४८ घन्टा अगाडिको  आरटी वा पिसीआर गरेको रिपोर्ट पेस गर्नुपर्ने बताएको छ । 

यस्तै, एन्फाले प्रतियोगिता तयारी खर्च एक क्लबलाई ५० हजार रूपैयाँ दिने बताएको छ । उपमेयर कपको विजेताले पाँच लाख, दोस्रो हुने टोलीले तीन लाख र फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ । 

यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ  । प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस