एकै दिन १५ अर्ब खर्च

पत्रपत्रिकाबाट

शनिबार, ०२ असोज २०७८, ०६ : ५२
एकै दिन १५ अर्ब खर्च

काठमाडौं । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८ ÷७९ को बितेका दुई महिना साउन र भदौमा मात्र १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेटमार्फत चालू आर्थिक वर्षमा कुल १० खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन हुने लक्ष्य राखेका छन् ।

सरकारले दुई महिनामा कर राजस्वअन्तर्गत १ खर्ब ४८ अर्ब तथा गैरकर राजस्वअन्तर्गत २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले भदौ महिनामा मात्र ७५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, गत साउन महिनामा ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

संवैधानिक बन्देजको अवस्थामा राजस्व मात्र उठाउन पाउने तर सरकारी खर्च गर्न नपाउने अवस्था उत्पन्न भएपछि महालेखा नियन्त्रको कार्यालयले बजेट शून्यताको गाँठो फुकाइदिएको थियो ।

महालेखाले बजेट शून्यताको गाँठो फुकाएसँगै सरकारले गत बुधबार दिनभर हतारमा सरकारी कोषबाट एक दिनमै झन्डै १५ अर्ब रुपैयाँ खर्च गरेको थियो । सो रकम चालू खर्चतर्फको हो । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस