संसद असफल पारेर मुलुकलाई चुनावमा धकेल्न एमालले फेरि षडयन्त्र थाल्यो : चित्रबहादुर केसी

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १४ : १३
संसद असफल पारेर मुलुकलाई चुनावमा धकेल्न एमालले फेरि षडयन्त्र थाल्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई फेरि निर्वाचनमा धकेल्न नेकपा एमालेले षडयन्त्र गर्न थालेको आरोप लगाएका छन् । उनले पछिल्लो पुनर्स्थापित संसदलाई फेरि भंग गर्न बाध्य पारेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका एमालेले राज्यका निकायहरुमाथि आक्रमण गरिरहेको आरोप लगाएका हुन् ।

शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष चित्रबहादुर केसीले भनेका छन्, ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ । त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ ।’

एमालेको यो षडयन्त्र चिर्नका लागि समेत हालको सत्तारुढ पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन् । उनले वर्तमान सरकारबाट समेत देश र जनताका समस्या समाधान नहुनेमा आफूहरु विश्वस्त रहेको भए पनि मुलुक प्रतिगमनमा जानबाट रोक्नका लागि मात्र गठबन्धनमा सामेल भएको बताए ।

पछिल्लो धेरै विवादमा रहेको अमेरिकी सहयोग एमसीसी भने कुनै हालतमा पनि पारित गर्न नहुने उनको अडान छ । जारी विज्ञप्तीमा एमसीसीका विरुद्ध एकल वा संयुक्त संघर्ष जारी राख्ने समेत अध्यक्ष केसीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस