गुण एयरले चितवन काठमाडौँ उडान भर्दै

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १३ : ५६
गुण एयरले चितवन काठमाडौँ उडान भर्दै

चितवन। चितवनमा गुण एयरलाइन्सले पनि नियमित उडान भर्ने भएको छ । आउँदो असोज १ गते सेप्टेम्बर १७ देखि गुण एयरलाइन्सको काठमाडौं–भरतपुर उडान सुरु हुन लागेको हो ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार तथा बिक्री प्रमुख प्रज्वल थापाले एक साताका लागि चितवनमा दैनिक एउटा उडान हुने जानकारी दिए । पहिलो चरणमा दिनमा एउटा उडान हुने भन्दै थापाले त्यस पश्चात क्रमशः उडान संख्या बढाउँदै लैजाने जानकारी दिए । प्रवक्ता थापाले भरतपुरको उडानका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिए । 

प्रवक्ता थापाले ट्राभल एजेन्सी र भरतपुर विमानस्थलभित्र रहेको कार्यालयबाट टिकट लिन सकिने भन्दै यात्रुहरुको सहजताका लागि टिकट मूल्य न्यूनतम राखिएको बताए । भरतपुर–काठमाडौँका लागि प्रतियात्रु दुई हजार ८०० रुपैयाँदेखि तीन हजार २०० रुपैयाँसम्मका टिकट व्यवस्था गरिएको थापाको भनाइ छ । भरतपुरमा एक साताका लागि काठमाडौं–भरतपुर बिहान १० बजे उडान हुनेछ । त्यसको एक सातापछि विहान र दिउँसो, अर्को साताबाट अपराह्न ३ बजेसम्म दैनिक तीन वटा उडान हुने प्रवक्ता थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस