केपीसँग एकता गरेर ज्ञान प्राप्त गरेर आएँ, यो ज्ञान अरु पार्टीलाई पनि काम लाग्छ : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १८ : ००
केपीसँग एकता गरेर ज्ञान प्राप्त गरेर आएँ, यो ज्ञान अरु पार्टीलाई पनि काम लाग्छ : प्रचण्ड

file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझैपनि कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान सक्ने आधार रहेको बताएका छन् । विश्वका कतिपय देशमा कम्युनिस्ट आन्दोलनको नामनिशान नभएपनि नेपालमा अझै कम्युनिस्ट आन्दोलनको बलमा वैज्ञानिक समाजवाद निर्माण गर्न सकिने आधारहरू रहेको बताएका हुन्  ।

आइतबार वामपन्थी लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान नेकपा बनाइएपनि विविध कारणले एकता सफल हुन नसकेको तर एकताको पहल अझैपनि जारी रहेको बताए । उनले केपी ओलीसँग पार्टी एकता गरेर आफूले ज्ञान प्राप्त गरेको पनि बताए ।

प्रचण्डले आन्दोलनलाई बीच बाटोमै छाडेर हिँड्न नसकिने भन्दै एउटा निष्कर्षमा पुर्याउन लागिरहने बताए । जिम्मेवारी बोधले आन्दोलनमा जोडिरहनुलाई पदमा टाँसिरहेको रुपमा मात्रै हेर्न नमिल्ने उनको भनाइ छ । मार्क्सवाद र वैज्ञानिक समाजवादका सिद्धान्तमा आफू अविचलित रुपमा लागिपर्ने भन्दै प्रचण्डले आफूले एजेण्डामा सम्झौता नगरिदिँदा एक्लिनसक्ने तर्फ पनि  संकेत गरे । 

‘माओले लास्टमा मलाई श्रीमतीको पनि विश्वास छैन भन्नु्भयो । ४ जनाको पनि समूह नहिँड न भनेकै हो माओले’, प्रचण्डले भने, ‘कहिलेकाहीँ १–२ वर्षपछि म पनि एक्लो पो हुने हो कि र माओले भनेजस्तो एक्लो छु भन्नुपर्ने हो कि रु त्यस्तो त्यस्तो चित्र दिमागमा आउँछ ।’ कम्यनिस्ट आन्दोलनमा यस रोगबारे चिन्तामा मनन जरुरी रहने उनको भनाइ छ । 

प्रचण्डले कार्यक्रममा तामाङको पुस्तकमाथिका टिप्पणीकारहरुले संकीर्ण मानसिकता राखेर माओवादी आन्दोलन र त्यस आन्दोलनका कमाण्डर प्रचण्डको भूमिकाबारे मौनता साँधेको भन्दै असन्तुष्टि समेत जनाए । उनले माओवादी नेता राम कार्की र अर्को कम्युनिस्ट नेता आहूतीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई उचाइ लैजान सबै क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउन जारी रहेको पनि बताए । यस्तै एमालेसँगको एकता पनि आफूले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणका लागि गरेको उल्लेख गर्दै प्रचण्डले नेकपा नटिकेपछि भरपूर ज्ञान प्राप्त गरेको बताए । ‘५ दलीय गठबन्धनको बैठकमा मैलाई ताकेर सोधियो, तपाईँले केपीसँग एकता गरेर के पाउनुभयो ?’ प्रचण्डले भने– ‘छोटो जवाफ दिन त गाह्रो थियो । ज्ञान प्राप्त गरेर आएँ भनेर जवाफ दिएँ ।’ आफूले प्राप्त गरेको ज्ञान अरु पार्टीहरूलाई पनि काम लाग्ने उनको भनाइ छ । 

प्रचण्डले अहिले नेपाली कम्युनिस्ट आन्दोलनले अनेकौं चुनौतीको सामना गरिरहेको भन्दै सबै पार्टीमा आन्तरिक समस्या रहेको पनि स्वीकार गरे । प्रचण्डले मार्क्सवादका आधारभूत सिद्धान्तमै इन्कार गर्ने प्रवृत्ति मार्क्स एंगेल्सकै पालादेखि देखापर्दै आएको सन्दर्भ राख्दै मार्क्सवाद अहिले पनि पुरानो नभएको बताए ।

प्रतिक्रिया दिनुहोस