कुन मन्त्रालयको बजेट बढ्यो ? कुनको घट्यो ?

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १० : २३
कुन मन्त्रालयको बजेट बढ्यो ? कुनको घट्यो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत कुनै मन्त्रालयको बजेट बढाए, कुनै मन्त्रालयको बजेट घटाएका छन् । मन्त्री शर्माले मन्त्रालयगत बजेट खर्चमा हेरफेर गरेका छन् । स्रोत सुनिश्चित नभएको भन्दै केही पूर्वाधार कार्यक्रमहरु उनले हटाएका छन् । उनले स्वास्थ्य क्षेत्रमा भने थप विनियोजन गरेका छन् ।

बजेट परिमार्जनसँगै चालू आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा मात्रै एक खर्ब रुपैयाँ खर्च गर्ने भएको छ । यसअघि विष्णु पौडेलले स्वास्थ्यमा छुट्याएको बजेटमा शर्माले १० अर्ब २२ करोड थप गरेका हुन् । यसका लागि स्रोत सिर्जना गर्न उनले पूर्वाधारतर्फ बजेट काटेका छन् ।

स्रोत सुनिश्चित नभएको भन्दै केपी ओली सरकारले अगाडि बढाएका १४ सय किलोमिटर सडकको योजना हटाइएको छ । यसैगरी चालू खर्च अन्तर्गत कर्मचारीलाई दिइने विभिन्न भत्ताहरुमा १० प्रतिशतले कटौती गरी यसबाट बचत हुने ५ अर्ब रुपैयाँ कोभिड‍ १९ का लागि खर्च गर्ने व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजना, क्रमागत आयोजनाहरु, सामाजिक सुरक्षा तथा संरक्षणसम्वन्धी कार्यक्रमहरु, कोभिड–१९ सम्वन्धी राहत तथा पुनरुत्थानसम्वन्धी खर्च र राजस्वसम्वन्धी मुलभुत नीतिहरुलाई भने नचलाइएको अर्थमन्त्री शर्माले बताएका छन् ।

कसको घट्यो, कसको बढ्यो ?
प्रतिस्थापन विधेयकमार्फत अधिकांश मन्त्रालयको बजेट घटाइएको छ । कृषि पशुपन्छी विकास, संस्कृति–पर्यटन तथा नागरिक उड्ययन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण बाहेक सबैको बजेट कटौती गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, शहरी विकास लगायतका १८ मन्त्रालयको बजेट अर्थमन्त्रीले घटाइदिएका छन् ।

सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ६ अर्ब २७ करोड ९५ लाख रुपैयाँले कटौती भएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको १ अर्ब ८३ करोड, शहरी विकास मन्त्रालयको १ अर्ब ३५ करोड, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १ अर्ब ७ करोड, गृह मन्त्रालयको १ अर्ब ६ करोड र खानेपानीमन्त्रालयको १ अर्ब ४ करोड रुपैयाँले बजेट घटाइएको छ ।

वृद्धितर्फ सबैभन्दा धेरै १० अर्ब २२ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयको बजेट बढाइएको छ । यसैगरी कृषि मन्त्रालयको ३ अर्ब २५ करोड २७ लाख रुपैयाँ, पुनःनिर्माण प्राधिकरणको ३ अर्ब ६७ करोड ४२ लाख, रक्षा मन्त्रालयको ४९ करोड ५५ लाख र पर्यटन मन्त्रालयको १६ करोड ५१ लाख रुपैयाँले बजेट बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस