हुम्लामा एक हप्तासम्म विद्युत् आपूर्ति बन्द

रासस

विहीबार, २४ भदौ २०७८, २१ : ०७
हुम्लामा एक हप्तासम्म विद्युत् आपूर्ति बन्द

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटसहित दुई वटा गाउँपालिकालाई विद्युत् सेवा दिँदै आएको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरणले आजदेखि एक हप्तासम्मका लागि विद्युत् आपूर्ति बन्द गरेको छ ।

विभिन्न समयमा विभिन्न बहानामा बनाउँदै पटकपटक सेवा ग्राहीलाई अँध्यारोमा बस्नुपर्ने बाध्यता बनाउँदै विद्युत् प्राधिकरणको सेवाबाट यहाँका सेवाग्राहीले सास्ती खेपिरहनुपरेको छ । 

मर्मतका लागि बर्सेनि करोडौँ रकम खर्च गरेको भए पनि विद्युत् सेवा नियमित हुन नसक्दा सिमकोटबासी, खार्पुनाथ गाउँपालिका र सिमकोट गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्दै आउनुपरेको छ ।

केही दिनअगाडि पहिरोले बगाएको ओभरफ्लो पाइपको मर्मत गर्नका लागि विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरणका प्रमुख साजन ऐडीले जानकारी दिए । पहिरोले बगाएको नहर नजिकको ओभरफ्लोको पाइपलाइन मर्मत कार्य सुरु गर्नुपर्ने भएपछि सम्पूर्ण विद्युत् आपूर्ति बन्द गरिएको उहाँको भनाइ छ । 

नहरमा पानी पुनः सञ्चालन गरेर विद्युत् आपूर्ति गर्दा नहर पनि पहिरोमा जाने जोखिम भएपछि विद्युत् आपूति बन्द गर्नुबाहेक अन्य विकल्प नदेखिएकाले मर्मत हुँदासम्मका लागि विद्युत् सेवा बन्द गरिएको उहाँले बताए ।

साढे दुई सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनाले ओभरफ्लो पहिरोले लगेपछि अस्थायीरूपमा काम चलाउने गरेर १०० किलोवाट विद्युत् उत्पादन गरेर आपूर्ति गर्दै आएको थियो ।

विद्युत् सेवा बन्द हुँदा केन्द्रका दुई हजार ३०० ग्राहक मर्कामा परेका छन् । यसबाट बढी बैंक तथा वित्तीय संस्थाका साथै सरकारी तथा गैरसरकारी कार्यालय र विद्युतीय सेवाबाट काम गर्ने निकाय बढी प्रभावित भएका छन् ।

सिमकोटमा रहेको नेपाल टेलिकम हुम्लाले बुधबार रातिदेखि हुम्लामा विद्युत् सेवा बन्द हुँदा जेनेरेटरबाट काम चलाउँदै आएको निमित्त कार्यालय प्रमुख रामबहादुर बोहराले बताए । विद्युत् आपूर्ति बन्द हुँदा नेपाल टेलिकमलाई समेत ठूलो क्षति पुगेको निमित्त प्रमुख बोहराले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस