मन्त्रालयको भागवन्डा मिलाउन प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १३ : ५९
मन्त्रालयको भागवन्डा मिलाउन प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले झन्डै दुई महिनाको अवधिमा पनि मन्त्रालय विस्तार गर्न सकेको छैन । देउवा नेतृत्वको सरकारले मन्त्रालयको भागवन्डा मिलाउन नसक्दा आलोचित भइरहेको छ । 

केही दिनअघि प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुबाटै मन्त्रीहरुको नामको सूची नआएको गुनासो गरेका थिए । दुई महिनाको अवधिमा पनि मन्त्रीमण्डल विस्तार हुन नसक्दा विकास निर्माणको कामहरु अघि बढ्न सकेको छैन । 

पछिल्लो समय भागवन्डा मिलाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सक्रिय भएका छन् । आज मन्त्रालयको भागवन्डा मिलाउन हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल चलिरहेको छ।

छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । एमसीसीका सन्दर्भमा कांग्रेस र सत्ता गठबन्धनका अन्य दलबीचमै कुरा मिलेको छैन । त्यस्तै माधव नेपाल र उपेन्द्र यादवबीच मन्त्रालय बाडफाँडमा समेत विवाद भएकाले प्रचण्डले मध्यस्थता गर्दै मन्त्रालयमा भागवन्डा मिलाउन प्रयास गरिरहेका छन् । 

प्रचण्डकै पहलमा आजको वार्ता भएको स्रोतले जनाएको छ । उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा माधव नेपाल र उपेन्द्र यादव दुवै दलले दावी गरेका छन् । जसका कारण हालसम्म पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।  सत्तारुढ गठबन्धनको बैठकमै नेपाल र यादवबीच कुन मन्त्रालय लिने भन्ने विवाद भएको छ । 

प्रतिक्रिया दिनुहोस