कञ्चनपुरमा सयौं बिघा सरकारी जग्गा दुरुपयोग, अख्तियारले थाल्यो छानबिन

पत्रपत्रिकाबाट

बुधबार, २३ भदौ २०७८, ०८ : ५१
कञ्चनपुरमा सयौं बिघा सरकारी जग्गा दुरुपयोग, अख्तियारले थाल्यो छानबिन

काठमाडौं । कञ्चनपुरको भीमदत्त पन्त नगरपालिकाको सयौं बिघा जग्गा गैरकानुनी रूपमा बिक्री–वितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले विस्तृत रूपमा छानबिन थालेको छ। नगर विकास समितिका विभिन्न कार्यकालका अध्यक्ष, कर्मचारी, भूमाफिया, राजनीतिक दलका नेतालगायतको मिलोमतोमा भीमदत्त पन्त नगरपालिकाको जग्गा कब्जा गरेर गैरकानुनी संरचनासमेत निर्माण गरिएका छन्।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा गैरकानुनी रूपमा बिक्री–वितरण गरिएकोमा वर्षौदेखि स्थानीय बासिन्दाले विरोध गरिरहेका छन्। समिति अहिले भीमदत्त नगरपालिका मातहत छ। समितिको सम्पत्ति पनि नगरपालिका अन्तर्गत छ। जग्गा अपचलन विषयमा उजुरी परेर पटकपटक छानबिन पनि भयो तर राजनीतिक आड र आर्थिक चलखेलमा प्रतिवेदन कार्यान्वयनमा ल्याइएन। सरकारी जमिन कब्जा गरी बनाइएका संरचना पनि हटाइएन।

गैरकानुनी रूपमा जग्गा बिक्री–वितरण गरिएको भन्दै परेका उजुरीको छानबिन गर्नुपर्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भीमदत्त पन्त नगरपालिका–४ मा नगर विकासकै जमिनमा दुई वर्षअघि भवन बनाएको थियो। जग्गा अतिक्रमणबारे विस्तृत छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोली अहिले महेन्द्रनगर आएको छ।

अख्तियार अनुसन्धान आयोगका उपसचिव ओमप्रकाश बराल नेतृत्वको ३ सदस्यीय टोली महेन्द्रनगर आएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको महेन्द्रनगरका प्रतिनिधिसहित ४ सदस्यीय टोलीले छानबिन थालेको उनले बताए। पटकपटक परेका उजुरीका आधारमा विस्तृत छानबिनका लागि केन्द्रबाट टोली महेन्द्रनगर आएको अख्तियारको महेन्द्रनगर कार्यालयका प्रवक्ता हरिशचन्द जोशीले बताए। ‘पटकपटक अख्तियारमा उजुरी परेका थिए, टोलीले डिटेल छानबिन गरी यो मुद्दाको छिनोफानो गर्ने छ’, उनले भने।

विभिन्न समयमा बनेका नगर विकास समितिका अध्यक्ष, कर्मचारी, जमिन बिक्री र खरिद गर्ने, लिजमा दिने र लिने, अवैध संरचना बनाउने सबैसँग अख्तियारको टोलीले बयान लिने उनले बताए। ‘जमिनसँग जोडिएका र संलग्न सबैसँग बयान लिएर टोलीले छानबिन गर्ने छ’, उनले भने, ‘जति समय लागे पनि यो विशेष टोली छानबिन गरेर निचोडमा पुग्नेछ।’  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस