विरोध खतिवडाको जिल्लामा ३९ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, २० : ००
विरोध खतिवडाको जिल्लामा ३९ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा

काठमाडौं । सांसद विरोध खतिवडाको जिल्लामा ३९ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा पहिचान गरेका छन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद विरोध खतिवडाको गृहजिल्लामा तत्कालीन नेकपा एमाले पनि माधव नेपाल पक्षधरकै नेतृत्व थियो ।

जिल्ला अध्यक्ष मुनु सिग्देलको नेतृत्वमा रहेको जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरित भएको छ । सिग्देल अहिले समाजवादीमा केन्द्रीय सदस्य रहनु भएको छ भने जिल्ला अध्यक्षमा श्रीधर पोखरेललाई चयन गरिएको छ ।

दल फुटाउने अध्यादेशपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा मकवानपुरका ३९ जना जनप्रतिनिधि पहिचान भएका छन् । निर्वाचन आयोगले गएको भदौ १५ गतेदेखि २२ गते मंगलबार ५ बजेसम्ममा दल रोज्नका लागि दिएको समयावधिभित्र मकवानपुरमा दुईजना गाउँपालिका अध्यक्ष, एकजना उपमेयर,एकजना उपाध्यक्षसहित ३९ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

समाजवादीमा सनाखत गर्नेहरुमा कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान,ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस