आन्तरिक पर्यटक गर्न विशेष प्याकेज ल्याउदैं सौराहाका होटल व्यवसायी

रासस

मंगलबार, २२ भदौ २०७८, १० : ३०
आन्तरिक पर्यटक गर्न विशेष प्याकेज ल्याउदैं सौराहाका होटल व्यवसायी

चितवन । होटल सेभेनस्टारले दशैंतिहार अफर ४० प्रतिशत छुट गरेको छ। कोठामा यो छुट गरिएको हो। होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट गरिएको बताए। कर्पोरेट कार्यक्रममा पनि विशेष छुट दिइएको उनले बताए। 

क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताए। राष्ट्रियरूपमा नै सौराहामा अन्य समयको तुलनामा अफरमार्फत आन्तरिक पर्यटकलाई छुटको व्यवस्था भएको सन्देश पुर्याइदिन उनले आग्रह गरे। आन्तरिक पर्यटक भित्र्याउन सकेमा होटल टिक्ने उनले बताए। सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुरेन्ट रहेका छन्।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन ९रेबान०का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए। कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको खतिवडाको भनाइ छ।

आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले जानकारी दिए। क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए। कतिपयले प्याकेज बनाएका छन् भने कतिपयले एकमुष्ट छुट दिएको उनको भनाइ छ।

गत वर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको उनको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस