मौद्रिक नीतिको असरः सेयर बजारमा पहिरो

पत्रपत्रिकाबाट

सोमबार, २१ भदौ २०७८, ०७ : १४
मौद्रिक नीतिको असरः सेयर बजारमा पहिरो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण लगानीकर्ता आत्तिँदा पुँजी बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ।

सेयर बजार परिसूचक नेप्से तीन हजार दुई सय हाराहारीमा पुगेको पुँजी बजारमा पहिरो जाने क्रम नरोकिँदा छोटो समयमै नेप्से दुई हजार आठ सय वरिपरि झरेको छ।

साताको पहिलो दिन आइतबार नेप्से अघिल्लो दिनको कारोबारको तुलनामा एक सय आठ अंकले घटेर दुई हजार आठ सय १८ बिन्दुमा झर्‍यो। जुन पछिल्लो नौ महिनाकै सर्वाधिक गिरावट हो। सोही दिन नेप्से एक सय ४७ अंकसम्म घट्न पुगेको थियो। कारोबारको अन्तिम समयमा भने नेप्से केही सुधार भएर बन्द भयो।

सेयर लगानीकर्ता पुँजी बजार ओरालो लाग्नुमा राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज मुख्य दोषी रहेको आरोप लगाउँछन्। ठूला लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियार सर्वसाधारणको लगानीमा नियामक निकाय मालिक बन्न खोज्दा पुँजी बजार ओरालो लागेको दाबी गर्छन्।

‘राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एउटा वित्तीय संस्थाबाट चार करोड र सबै वित्तीय संस्थाबाट १२ करोड रूपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाइने व्यवस्था गरेपछि समस्या आएको हो,’ उनले भने, ‘त्यसैबेला धितोपत्र बोर्डले ५१ सूचीकृत संस्थालाई रातो सूचीमा राख्दा लगानीकर्ताको मनोबल थप खस्कियो।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस