मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली काठमाडौंमा

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, १८ : २५
मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली काठमाडौंमा

काठमाडौं । नेपालविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ ।कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली काठमाडौं आइपुगेको हो । नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । तीन साता पोखरामा अभ्यास गरी नेपाली टोली पनि काठमाडौं फर्किसकेको छ ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा विश्वकप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । नेपाल र भारत दुवै टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा रहेका छन् ।

मैत्रीपूर्ण खेलपछि नेपाली टोली अन्तिम तयारीका लागि कतार जाने तयारीमा छ । असोज १५ गते देखि साफ च्याम्पियनसिप माल्दिभ्समा सुरु हुनेछ । जहाँ भारतले पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

यसैबीच नेपाल र भारतबीचको दुवै खेल साँझ ५ः३० मा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशबारे भने अहिलेसम्म निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस