सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल, मन्त्री परिषद विस्तार गर्ने तयारी

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १२ : १२
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल, मन्त्री परिषद विस्तार गर्ने तयारी

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ । मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने बालुवाटारमा सहमति जुटेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । छलफलमा दोस्रो तहका नेताहरुको पनि सहभागिता थियो ।

आइतबार बिहानै भएको छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको सहभागी एक नेताले जानकारी दिए । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म चार मन्त्रीसहित एक राज्यमन्त्री मात्र नियुक्त गरेका छन् । गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस