काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ४७ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । महत्त्वपूर्ण मन्त्रालयहरू नेतृत्वविहीन रहँदा सरकारका कामकारबाही लथालिंग भएका छन् । सत्ता गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) मा मन्त्रीका आकांक्षी मिलाउन नेतृत्वलाई हम्मेहम्मे परेको छ ।
एमालेको औपचारिक विभाजनलगत्तै सरकारको काम तीव्र पार्ने बताएका सत्ता गठबन्धनका नेताहरूले मन्त्रिपरिषद् विस्तारमा अझै दुई–तीन दिन लाग्ने संकेत गरेका छन् । कुन दलले कति मन्त्रालय लिने टुंगो लागे पनि कसले कुन मन्त्रालय लिने भन्ने पनि मिलिसकेको छैन । मन्त्रिपरिषद् विस्तारलाई लिएर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार बिहान छलफल भए पनि कहिलेसम्म विस्तार गर्नेबारे ठोस सहमति बनेको छैन ।
प्रधानमन्त्रीनिकट एक नेताका अनुसार कांग्रेस र माओवादीमा धेरै समस्या नदेखिए पनि एकीकृत समाजवादी र जसपामा आन्तरिक मतभेद हुने सम्भावना रहेकाले मन्त्रिपरिषद् विस्तार उनीहरूले नाम दिएलगत्तै गर्ने तयारी छ । जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तार केही दिनभित्रै हुने र त्यसपछि सरकारको काम प्रभावकारी हुने बताए । ‘अब धेरै ढिला हुन्न । केही दिनभित्रै विस्तार होला,’ उनले भने, ‘त्यसपछि सरकारको काम चुस्त हुन्छ ।’
स्रोतका अनुसार जसपाका नेताहरू दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद् विस्तारमा जाँदा पार्टीभित्र समस्या आउन सक्ने बुझाइमा छन् । खास गरेर जसपा र एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै छन् । महन्थ ठाकुर पक्षका सांसदहरूले मन्त्रीकै लोभमा कित्ता परिवर्तन गरेका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका आठ सांसद पनि मन्त्रीकै आसमा माधव नेपालतिर लागेका थिए ।
सत्तारूढ दलहरूभित्रै मन्त्रीका आकांक्षीको चित्त बुझाउन नसक्दा पनि अलमल भइरहेको नेताहरूले बताएका छन् । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटीका एक सदस्यले भने, ‘हामीले सरकारमा पठाउने पात्रको विषयमा शुक्रबार छलफल गरेका छौं । आकांक्षी धेरै देखिएका छन्, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परेको छ ।’
तर, ती नेताले विवादका बीच पनि मापदण्ड बनाएर नाम टुंग्याउनुको विकल्प नरहेको बताए । ‘सरकारमा जाने औपचारिक निर्णय गरिसक्यौं, व्यक्तिव्यक्तिका अनुहार हेर्ने हो भने सबै उस्तै देखिन्छन्, त्यसकारण मापदण्ड बनाउने र टुंग्याउने भन्नेछ, त्यसो गर्दा विवाद पनि कम हुन्छ,’ ती नेताले भने । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १३ भदौ २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव