सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने

रासस

विहीबार, १० भदौ २०७८, २१ : २२
सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने

काठमाडौं । नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । 

अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो । गत वर्ष पनि उनि सोही टोलीमा अनुबन्धित थिए । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ । 

गत वर्षको बिबिएलमा उनले आठ खेलमा आठ विकेट लिएका थिए । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । लामिछानेले बिबिएलमा हालसम्म तीन वटा संस्करण खेल्दा २९ खेलमा ३४ विकेट लिइसकेका छन् ।

सन् २०१८ मा पहिलो पटक मेलवर्न स्टार्सबाट बिबिएल खेल्दा उहाँले आठ खेलमा ११ विकेट लिनुभएको थियो । सन् २०१९ मा दोस्रो पटक बिबिएलमा उनले १३ खेलमा १५ विकेट लिएका थिए । 

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि उहाँ हाल ओमानमा छन् । उक्त सिरिजका कारण लामिछानेले यस पटकको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता त्याग्गेका थिए ।

यसपटक उनले राहदानीको समस्याका कारण बेलायतमा भएको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउनुपरेको थियो ।