काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः थपिदै

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, ११ : ३८
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः थपिदै

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञालाई लम्ब्याउन लागिएको हो । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थपिने जानकारी दिए । उनले विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको बताए । ‘‘पछिल्लो समय विविध कारणले  संक्रमण बढिरहेको छ । मृत्युदर पनि उकालो लाग्दो छ । यस्तो अवस्थामा निषेधाज्ञा गरिएका क्षेत्रहरुमा खुलाउने कुरा हुँदैन,” प्रजिअ निरौलाले भने, ‘‘निषेध गरिएका क्षेत्रहरुमा निषेधाज्ञा यथावत नै रहन्छ । अन्य मोडालिटीबारे केही छलफल भएको छैन ।”

पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो । संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ ।

प्रजिअ निरौलाका अनुसार अन्य मोडालिटी फेरबदलबारे छलफल भएको छैन । ‘‘आज सरोकारवाला निकायहरुसँग संक्रमणदर र मृत्युदरको समीक्षा गर्दैर्छौँ । त्यसपछि तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअको बैठक बस्छ । त्यसपछि मात्रै निषेधाज्ञाबारे निर्णय हुनेछ,” प्रजिअ निरौलाले भने ।

पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि ८ गते मंगलबार राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिन एक वा दुई दिन अघि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस