उखु किसानलाई तत्काल एकमुष्ट रकम भुक्तानी नगरे आन्दोलनमा उत्रने किसान संगठनहरूको चेतावनी

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १६ : १७
उखु किसानलाई तत्काल एकमुष्ट रकम भुक्तानी नगरे आन्दोलनमा उत्रने किसान संगठनहरूको चेतावनी

काठमाडौं । लामो समयदेखि चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेको भन्दै विभिन्न ६ किसान संगठनहरूले किसानहरुलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका छन् ।विभिन्न ६ किसान संगठनले आइतबार संयुक्त वक्तव्य जारी गर्दै चिनी मिलहरुले किसानहरुलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका हुन् ।

जारी बक्तव्यमा भनिएको छ,‘लामो समयदेखि उखु उत्पादक किसानहरूले आफ्नो मेहनतबाट उत्पादित वस्तु चिनी मिल तथा अन्य व्यापारीहरूलाई विक्रिवितरण गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद हो। यो उखु उत्पादक किसानहरूका लागि पीडादायक कुरा हो भने किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौ वर्ष झुलाएर राख्ने उद्योगी, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि राष्ट्रिय लज्जाको विषय हो ।’

यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दिएको तर आफ्नो वचन पूरा नगरेको संगठनको आरोप छ ।

किसानहरू जिल्ल पर्ने बाहेक अरु केही हुन नसकेको उनीहरुको दुखेसो छ । ६ किसान संगठनले पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको बताएका छन् ।

वर्तमान सरकारले ओली सरकारलेजस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ठ रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्न÷गराउन किसान संगठनहरूले माग गरेको छ ।

किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस