आईसीसी विश्वकप लिग–२ का लागि १७ खेलाडीको छनोट, गुल्शन झा पहिलो पटक सिनियर टिममा

सफल खबर संवाददाता

शनिबार, ०५ भदौ २०७८, १२ : ३४
आईसीसी विश्वकप लिग–२ का लागि १७ खेलाडीको छनोट, गुल्शन झा पहिलो पटक सिनियर टिममा

काठमाडौं । युवा क्रिकेटर गुल्शन झा पहिलो पटक नेपालको सिनियर क्रिकेट टिममा परेका छन् । आगामी सेप्टेम्बरमा ओन हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि शनिबार घोषित टोलीमा गुल्शनले स्थान बनाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको १७ सदस्यीय टोलीमा गुल्शन मात्र नयाँ नाम हुन् ।पहिलो पटक सिनियर टिमको क्याम्पमा स्थान बनाएका गुल्शन पहिलो पटकमै राष्ट्रिय टिममा समेत पर्न सफल भए । उनले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट प्रतियोगिता खेलेका थिए ।

तर घरेलु क्रिकेटमा धेरै खेल नखेलेका उनी नेपाली क्रिकेटकै लागि नयाँ नाम हो ।गत फागुनमा भएको काठमाडौं मेयर्स कप क्रिकेटमा दुई खेल मात्र खेलेका गुल्शन त्यहीबाट चर्चामा आएका हुन् ।

उनले पुलिसबाट खेल्दै फाइनलमा एपीएफविरुद्ध ४ विकेट लिएका थिए । फाइनलअघि उक खेल मात्र खेलेका गुल्शनले फाइनलमा बलियो टोली एपीएफविरुद्ध ७ ओभरमा ३६ रन खर्चेर चार विकेट लिँदै सबैलाई चकित पारे । उनी फाइनलको खेलको प्लेअर अफ दि म्याचसमेत बनेका थिए । सरप्राइज प्याकेजमा रुपमा रहेका उनले एपीएफको टप अर्डर नै ध्वस्त पारेका थिए ।

त्यसअघि काठमाडौं मेयर्स टिमविरुद्ध उनले डेब्यु गर्दै किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् । ६ ओभरमा १ मेडन राखेर २२ रन खर्चेरका थिए । उनले त्यसअघि ब्याटिङमा पाँच रन बनाएका थिए ।

प्रधानमन्त्री कप एकदिवसी क्रिकेटका लागि प्रदेश २ को अन्तिम टोलीमा पर्न नसकेका उनी मेयर्स कपका लागि पुलिसमा पुगेका थिए ।पुलिसले गुल्शनको प्रतिभालाई पहिचान गर्दै पुलिसले उनलाई टिममा भित्र्याएको थियो ।

६ फिट उचाई रहेका गुल्शनले प्रधानमन्त्री कपका लागि सर्लाहीबाट छनोट खेले पनि प्रदेश २ को अन्तिम टोलीमा पर्न सकेका थिए ।दायाँ हाते बलर गुल्शन बायाँ हाते ब्याटिङ गर्छन् ।

सर्लाहीमा सानैदेखि क्रिकेट खेल्ने गुल्शन सन् २०१६ मा थप क्रिकेट सिक्न भारतसमेत गएका थिए । जहाँ उनले झारखण्डको एक क्रिकेट एकेडेमीमा चार वर्ष बसेर क्रिकेट सिने अनि लकडाउनमा नेपाल फर्केका थिए ।

त्यसपछि उनी पुलिसको यात्रा तय गर्दै राष्ट्रिय टिमसम्म आइपुगे ।सोमपाल कामी, करण केसी र अविनाश बोहरा जस्ता फास्ट बलिङ लाइनअफ रहेको नेपाली टिममा गुलशनको पनि इन्ट्री भएको छ । यस्तै अर्का फास्ट बलर विक्रम सोवले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । १७ सदस्यीय नेपाली टिममा अहिले पाँच फास्ट बलर छन् ।

गुल्शनसँगै विक्रम सोबले पनि नेपालको लागि ओडीआईमा डेब्यु गर्न बाँकी छ । यस्तै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरिसकेका कुशल भुर्तेल र आसिफ शेखले पनि ओडीआईमा डेब्यु गर्न बाँकी छ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिजमा नेपालले कुल चार खेल खेल्नेछ । त्यसअघि पपुवा न्यु गिनीसँग दुई एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । ओमान भ्रमणमा नेपालले कुल ६ खेल खेल्ने भएकोले पनि डेब्यु गर्ने सम्भावना रहेको छ ।कुशल भुर्तेल र आसिफले गत वैशाखमा नेपालमै ऐएको टी -२० त्रिकोणात्मक सिरिजमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस