भारतीय दूतावासको ताला फोडेर तालिबानले लियो तलासी

एजेन्सी

शुक्रबार, ०४ भदौ २०७८, १३ : ४०
भारतीय दूतावासको ताला फोडेर तालिबानले लियो तलासी

अफगानिस्तान । तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा ताला फोडेर तलासी लिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार बुधबार कान्धार र हेरातस्थित बन्द रहेका भारतीय वाणिज्य दूतावासमा तालिबान लडाकुले ताला फोडेर तलासी लिएका हुन्।

दूतावासभित्र रहेका केही महत्वपूर्ण दस्तावेजहरु तालिबान लडाकुले गाडीमा राखेर लगेको समाचारमा जनाइएको छ। तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरुको खोजी कार्यलाई पनि तीव्र पारेको छ।

संयुक्त राष्ट्रसघंको एक दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरुको खोजतलास गरेको र उनीहरुका परिवारका सदस्यहरुलाई धम्क्याएको उल्लेख रहेको बिबिसीले जनाएको छ।

तालिबानले शक्ति हातमा लिएपछि अफगानहरुलाई कुनै पनि बदला नलिने भन्दै आश्वस्त पार्ने कोसिस गरेको थियो। सरकारी कर्मचारीहरुलाई पनि युद्ध समाप्त भएको भन्दै आममाफीको घोषणा गरेको थियो।

तर तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका ‘सहयोगीहरु’लाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसंघका लागि गोप्य सूचना संकलन गर्ने आरएचआईपीटीओ ९रिप्टो० नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो।

‘तालिबान केही विशेष मानिसहरुलाई आत्मसमर्पणका लागि बाध्य पार्न उनीहरुका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएर ज्यान मार्ने धम्की दिइरहेको छ’, उक्त रिपोर्टमा उल्लेख छ।

‘तालिबानद्वारा तारो बनाइएका व्यक्तिहरु अहिले उच्च सङ्ख्यामा रहेका छन् र तिनलाई धम्की दिइएको कुरा स्पष्ट छ’, उक्त प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले बिबिसीसँग भनेका छन्।

तालिबानले गएको आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेको हो। तालिबानले मुलुक कब्जा गरेपछि अफगानिस्तानबाट भागेका राष्ट्रपति अशरफ गनीले खाडी देश संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका छन्।

तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति गनीले गएको आइतबार देश छोडेका थिए।

प्रतिक्रिया दिनुहोस