यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष

पत्रपत्रिकाबाट

विहीबार, ०३ भदौ २०७८, ०८ : ११
यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ । १४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ । नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध विगतमा सौहाद्रपूर्ण भए पनि पछिल्लो अवस्थामा तिक्ततापूर्ण रह्यो । विगतमा नेपालको प्रमुख सहयोगी रहेका ओली पछिल्लो समय नेपालको विश्वास जित्न नसक्नुले दूरी बढ्दै गएको देखिन्छ । उनीहरूबीचको सहकार्य र संघर्ष २०४५ सालदेखि देखिनेगरी सुरु भएको छ । २०४८ सालमा झापा क्षेत्र ६ र २०५९ सालमा झापा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका ओली २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए ।

नेता नेपालकै प्रस्तावमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको सरकारमा गृह मन्त्रालयजस्तो महत्वपूर्ण जिम्मेवारी पाउन सफल ओली त्यसयता नेपालको प्रमुख सहयोगीमध्येकै एक हुन् । त्यस्तै, २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवं परराष्ट्रमन्त्री भएका थिए । दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा एमालेको नेतृत्व गर्दै ओलीलाई माधव नेपालले उपप्रधान एवं परराष्ट्रमन्त्री बनाएका थिए । त्यसबेला जनआन्दोलनकै विरोधमा बोलेका ओलीलाई नभएर अमृत बोहोरालाई सरकारमा पठाउनुपर्ने पक्षमा धेरै नेता थिए ।

तर, नेपालले पार्टी बैठकबाटै निर्णय गरेर ओलीलाई सरकारमा पठाए । नेपालको महत्वपूर्ण सहयोगमा ओली सरकारमा पुगे पनि एमालेबाट २४ असोज २०७२ मा नेपालको ३८औं प्रधानमन्त्रीका रूपमा पहिलोपटक प्रधानमन्त्री भएका ओलीलाई नेपालको सहयोग नभएको नेताहरू बताउँछन् । तत्कालीन नेकपा ९माले० संस्थापकमध्येका ओली २०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका थिए । ‘सरकार सफल हुँदामात्रै पार्टी बलियो हुन्छ तर व्यक्तिबारे मात्रै सोच्न थालियो भने परिणाम पनी राम्रो हुन सक्दैन ।’

२०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखमध्येका थिए । सोही वर्ष उनी जेलसमेत परे । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षक्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताए । केन्द्रीय सदस्य हुँदै एमाले अध्यक्षसम्म भएका ओलीलाई विगतमा नेपालको महत्वपूर्ण सहयोग रह्यो । तर, पछिल्लो समय दुई नेताबीच चिसो आउनुमा ओलीले नेपालको विश्वास जित्न नसक्नु र भनेकोको कुरा नगर्नु नै प्रमुख कारण रहेको बुझिएको छ । राजधानी दैनिकमा खबर छ ।