सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

रासस

बुधबार, ०२ भदौ २०७८, १३ : ५२
सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ ।  

सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए । उनले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको उल्लेख गरे । सन्दीप सीपीएल २०२१ मा ट्रिनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए।

सीपीएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन हुनेछ । नेपालले ओमानमा नै हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ । त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म चल्नेछ ।

त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग सेप्टेम्बर ५ र ८ तारिखमा दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । दुवै खेल ओमनमा नै हुनेछ । 

सन्दीपले यसअघि तीन सिजनको सीपीएल खेलिसक्नुभएको छ । उहाँले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस