मध्यरातमा ओलीको बर्बराहट : पार्टीलाई एकताबद्ध राख्न हरसम्भव कोसिस

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, ०८ : ३५
मध्यरातमा ओलीको बर्बराहट : पार्टीलाई एकताबद्ध राख्न हरसम्भव कोसिस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि पार्टी एकतामा आउन नेता कार्यकर्तालाई अपिल गरेका छन् । एमालेभित्र ओलीको कार्यशैलीका विरुद्ध डटेर सामना गरिरहेको वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीका सामु घुडाँ मुन्टो लगाएर आत्मसमर्पण नगर्ने, तर डटेर प्रतिवादमै उत्रिरहने नीतिमा गएपछि ओली दिनप्रतिदिन अप्ठ्यारोमा पर्दै गएका छन् ।

ओलीको कार्यशैलीका कारण सिंगो नेकपाको एकता जोगिन सकेन्, सरकारको दुई तिहाई जनमत र प्रदेश सरकारहरु सुरक्षित रहन सकेन् र अन्ततः एमाले पनि एक नरहने र त्यसको सम्पूर्ण दोषको भागीदार आफै बन्न पर्ने अवस्था निम्तेपछि ओलीले सोमबार मध्यरातमा वक्तब्य दिएर फेरि एकताको अपिल गरेका छन् । 

आफु सरकारमा बस्दा मधेस केन्द्रीत दल विभाजन र आफ्नै तत्कालिन दल नेकपा विभाजनका लागि अध्यादेश ल्याउने देखि सांसद अपहरणमा आफ्ना निकट नेतालाई परिचालन सम्म गरेका ओलीले त्यसबेला संसद छल्दै अनगिन्ती अध्यादेश ल्याएरै सरकार चलाएका थिए । 

अहिले सरकारले संसद अधिवेशन अन्त्य गरेपछि उनलाई आफ्नै दल एमाले विभाजन हुने भयमा निक्कै पिरोलेको देखिएको छ । कतै माधव नेपाल तिर सबै नेता कार्यकर्ता ओइरिन सक्ने भय देखेपछि र आफ्नो समुहभित्र पनि चुनावको मुखमा एकता जोगाउन नसकेको र एमालेलाई छिन्नभिन्न र कमजोर बनाएको आरोप लाग्ने भएपछि उनले एकताको नाटक गर्दै सोमबार मध्यरात १० बजेपछि वक्तब्य दिएका छन ।

सरकारले संसद अधिवेशन अन्त्य गरेर आज र भोलिमा माधव नेपालले चाहेमा दल विभाजन सम्बन्धि अध्यादेश ल्याईदिने गरी संसदको अधिवेशन अन्त्य गरेको छ । त्यसपछि ओलीले बेलुकी वक्तब्य दिएका हुन् ।  हेर्नुहेस ओलीको वक्तब्य : 

वक्तव्य 

१. सुल्झिएको विचार, सुदृढ संगठन र फराकिलो जनाधार सहितको एकतावद्ध नेकपा (एमाले) को नेतृत्वमा मात्रै संविधानको रक्षा र कार्यान्वयन गर्न सकिन्छ, लोकतन्त्रलाई सुदृढ गर्न, राष्ट्रियताको रक्षा गर्न र मुलुकलाई सुशासन तथा समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने निष्कर्षका साथ पार्टी एकताको रक्षाका लागि हामीले गरेको अनवरत प्रयासका बारेमा कमरेडहरु अवगत नै हुनुुहुन्छ । २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टीलाई एकताबद्ध राख्न हामीले हरसम्भव कोसिस गरेका थियौं । त्यो सम्भव नभएपछि नेकपा (एमाले) लाई नेकपाको विरासत सहितको एकीकृत पार्टीका रुपमा विकास गर्न केन्द्रित रह्यौं । यस क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको तथ्य पनि सबैलाई जानकारी नै छ ।

२. कार्यदलका तर्फबाट असार २८ गते उक्त प्रस्ताव प्राप्त भइसकेपछि मैले सोही दिन त्यसलाई ग्रहण गरेको थिएँ । त्यसै अनुरुप २०७८ साउन १ गते सम्पन्न पार्टी स्थायी कमिटीको बैठक र साउन ४–७ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधानका लागि महत्वपूर्ण आधारका रुपमा रहेको उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । सयौं शहीदहरुको बलिदान, हजारौं नेता तथा कार्यकर्ताको कष्टसाध्य संघर्ष, लाखौं सदस्यको मेहनत तथा जनसंख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैंमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ ।

पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दछु । सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनु पर्दछ भन्ने मान्दछु । तसर्थ, पार्टीलाई अनुशासित, एकताबद्ध एवम् गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुलाई हार्दिक आह्वान गर्दछु । पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत आफू सम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु । 
    
३. केही सयमयता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिष्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भैरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिंदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन् । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।  

४. हाम्रा सामु पार्टीको विधान, मुलुकको संविधान र कानुनी व्यवस्था बमोजिम विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी छ । यस बीचमा विधान संशोधनका लागि पार्टीका सबै तहका कमिटी र सदस्यहरुलाई सुझाव पठाउन निर्देशन गरिएको छ । मैले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यहरु माझ जीवन्त र रचनात्मक ढंगले छलफल हुने अपेक्षा गरेको छु । जनताको बहुदलीय जनवादको सिद्धान्त र पार्टी जीवनको लोकतन्त्रिकरणको मर्म अनुरुप विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने छ । विधान संशोधनको प्रक्रियामा आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण कमरेडहरुलाई हार्दिक आग्रह गर्दछु ।  

५. क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्ता पक्षबाट प्रतिपक्षमा परिवर्तित भएको छ । यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न सम्पूर्ण कमरेडहरुलाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिल गर्दछु । 


हार्दिक अभिवादनसहित । 

केपी शर्मा ओली
अध्यक्ष

प्रतिक्रिया दिनुहोस