दोस्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाँचिएला

पत्रपत्रिकाबाट

सोमबार, ३२ साउन २०७८, ०७ : १८
दोस्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाँचिएला

काठमाडौं । ८१ वर्षीया नेत्रकुमारी खाँड आइतबार पोखरा–१० रामबजारको खोप केन्द्रमा कोरोनाविरुद्ध दोस्रो खेपको खोप लगाउन आएकी थिइन। यसअघि उनले कोरोनाविरुद्ध कोभिसिल्डको पहिलो मात्रा खोप लगाएकी थिइन्। लामो समयको अन्तराल र अन्योलबीच दोस्रो मात्रा खोप लगाउन पाउँदा उनी खुसी थिइन्। 

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीजस्ता ६५ वर्ष उमेर समूहमाथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ। पाँच महिनापछि दोस्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सीमा थिएन। उनले दोस्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन्।

अरू उमेर समूहका नागरिकले यसअघि नै दुई डोज खोप लगाएको भए पनि ६५ वर्ष उमेरमाथिको समूहले भने कोभिसिल्डको पहिलो खेपको खोप मात्रा पाएको थियो। कोभिसिल्डको दोस्रो डोज नआएपछि ज्येष्ठ नागरिकको खोप अभियान रोकिएको थियो। अहिले एस्ट्राजेनिका खोप आएपछि बल्ल ज्येष्ठ नागरिकले दोस्रो खेप पाएका छन्।  

‘पहिलो खोप लगाएकाले पनि हुनसक्छ, यसबीचमा केही समस्या भएन,’ खाँडले भनिन्, ‘अब त अलि सुरक्षित भइन्छ कि झैँ लागेको छ। यसबीचमा भगवानले बचाएकै हुन् ।’ कोरोनाका कारण धेरै मुलुकमा वृद्धवृद्धा अप्ठेरोमा परेकोमा उनलाई चिन्ता थियो।

‘अब त केही सजिलो हुन्छ कि ? अघिल्लोपटक खोप लगाउँदा पनि मलाई कुनै अप्ठेरो भएन। योपटक पनि केही समस्या नहोला,’ खाँडको भनाइ थियो, ‘अब त थप केही समय बाँचिएला ।’ नागरिक दैनिकमा खबर छ ।