मनास्लुबाट लमजुङ हुँदै बाहिरिने पर्यटक बढे

सोमबार, १८ मंसिर २०७४, १३ : ४५
मनास्लुबाट लमजुङ हुँदै बाहिरिने पर्यटक बढे

बेँसीशहर, लमजुङ, १८ मंसिर । लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ । मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो ।
 
आठ हजार १६३ मिटरको उचाइमा रहेको मनास्लु आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङला पास गर्न जाने गर्दछन् । तर पछिल्ला वर्षमा थोरङला पास नगरी मनाङको धारापानीबाटै लमजुङ भएर बाहिरिनेको संख्यामा वृद्धि भएको पर्यटन सूचना केन्द्र खुदीका कर्मचारी वासुदेव न्यौपानेले बताउनुभयो ।

पर्यटन सूचना केन्द्रका अनुसार यस वर्ष पाँच हजारको हाराहारीमा पर्यटक लमजुङबाट बाहिरिएका छन् । गत अक्टोबर महिनामा मात्रै एक हजार ४५१ पर्यटक लमजुङबाट बाहिरिएको तथ्यांक छ । सोमध्ये केही पर्यटक भने लमजुङबाट नै प्रवेश गरी मनाङ पुगेर फर्किएको बताइएको छ ।
 

मनास्लु हिमाल आरोहणका लागि लमजुङबाट जाने अनुमति दिइएको भए पनि खासै पर्यटक आउने गरेका छैनन् । मनास्लु आरोहणको लागि यहाँबाट भएर आरोहण गर्न बाटो छोटो र सजिलो भए पनि प्रचारप्रसार हुन नसक्दा पर्यटक आगमनमा वृद्धि हुन नसकेको पर्यटन व्यवसायी बताउँछन् ।(रासस) 

 

प्रतिक्रिया दिनुहोस