लक्षण देखिएपनि परीक्षण गर्न मान्दैनन् कोरोना शंकास्पद बिरामी

पत्रपत्रिकाबाट

शनिबार, ३० साउन २०७८, ०७ : ५४
लक्षण देखिएपनि परीक्षण गर्न मान्दैनन् कोरोना शंकास्पद बिरामी

बागलुङ । जिल्लामा पछिल्लो समय कोरोना संक्रमण दर तीब्र बढेपनि लक्षण देखिएका शंकास्पद बिरामीले नै रोग लुकाउने गरेका छन् । सम्बन्धित बिरामी र परिवारका सदस्यले रोग लुकाउन थालेपछि  कोरोना भाइरस गाउँ तहसम्म भित्रभित्रै फेरि फैलिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोना भाइरस संक्रमण दर असार मध्यतिर १ हजार बढीबाट २  सयमा झरेको थियो। त्यसपछि कोरोना नियन्त्रण उन्मुख देखिएर लकडाउन खुकुलो बनाइएको थियो । तर, यही अवधिमा कोरोना संक्रमण दर बढेर अहिले ७ सय २०  पुगिसकेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे बताउँछन् । 

उनका अनुसार जिल्ला सदरमुकाम समेत रहेको बागलुङ नगरपलिकामा मात्रै ३ सय ३६ जना सक्रिय संक्रमित छन् । जिल्ला सदरमुकाम बागलुङ बजार, रामरेखा, उपल्लाचौरसहित बलेवाको अमलाचौर, नारयणस्थान तथा पैयुँपाटामा संक्रमण दर उच्च छ । कोरोना संक्रमण दर बढ्दै जान थालेपछि बिहीबारदेखि जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसका साथै स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकामसहित अन्य पालिकामा संक्रमण रोक्न परीक्षणलाई तीब्र बनाउने प्रयास गरे पनि शंकास्पद बिरामी समेत पीसीआर परीक्षणमा नआउँदा समस्या र थप संक्रमणको खतरा बढेको छ ।

बागलुङ नगरपालिकाको नगर स्वास्थ्य शाखाले १० दिनको अवधिमा नगरपालिकाभित्र कोरोना संक्रमण दर आधा घटाउने रणनीति बनाएको छ । जस अनुसार कोरोनाको ‘चेन ब्रेक’ गर्न १० दिनको अवधिमा हरेक दिन १ सयका दरले एक हजार जनाको पीसीआर र एन्टिजेन गर्ने योजना बनाए पनि पहिलो दिनमा जम्मा १२ जना मात्रै पिसिआर परीक्षणका लागि आएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।  अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस