इन्टरनेट सेवाको शुल्क घटाइने तयारी

रासस

शुक्रबार, २९ साउन २०७८, २१ : ०२
इन्टरनेट सेवाको शुल्क घटाइने तयारी

काठमाडौं । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउन शुल्क घटाउने तयारी गरेको छ ।

लिभिङ विट आइसिटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पु¥याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिए । 

“मोवाइल डाटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौँ”, उनले भने, “सरकारी र नीजि मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने छ ।”

एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उनको भनाइ छ । उनले डिजिटल नेपाल फ्रेमवर्क बनाउन सबै लाग्नुपर्ने धारणा राखे ।  

प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले सूचना प्रविधिको प्रयोग गरेर मात्र मुलुकमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताए । प्रविधिको प्रयोग गरेर मात्र मुलुकलाई समृद्व बनाउने सकिने बताउँदै उहाँले नेपाललाई डिजिटल नबनाई सुशासन हुन नसक्नेतर्क गरे । 

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले कोरोनाका कारण डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभाव पारेको भन्दै सूचना प्रविधिको विकास सरकारले भन्दा निजी क्षेत्रले गरेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए । 

‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगितामा प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, काठमाडौँकी कक्षा १२ मा अध्ययनरत नेहा गिरीले जित्नु भएको छ । उहाँको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगितामा प्रथम भई रु एक लाखको राशिको पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस