लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन विरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, ११ : ०२
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन विरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ । प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गत वैशाखमा गठन भएको जिकिर गर्दै प्रदेशसभा सदस्य गिरीले अविश्वास प्रस्ताव ल्याउन नमिल्ने दाबी रिट निवेदनमा गरेका छन् ।  उक्त रिट निवेदनको सुनुवाइका लागि मंगलबार नै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको थियो ।

तर मंगलबार उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।  यसैबिच आज  बिहान बसेको एमाले संसदीय दलको बैठकले अदालतको फैसला अनुसार अघि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस