लगालग प्रान्तीय राजधानी कब्जा गर्दैछन् तालिबान, ‘दबाब दिन’ दोहा पुगे अमेरिकी दूत

एजेन्सी

मंगलबार, २६ साउन २०७८, ११ : ०३
लगालग प्रान्तीय राजधानी कब्जा गर्दैछन् तालिबान, ‘दबाब दिन’ दोहा पुगे अमेरिकी दूत

काबुल । अफगानिस्तानमा विद्रोही समूह तालिबानले छैठौं प्रान्तीय राजधानी कब्जामा लिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार उनीहरूले उत्तरी प्रान्त सामानगानको राजधानी ऐबाक कब्जामा लिएका हुन्। गत शुक्रबारदेखि प्रान्तीय राजधानीहरूमा धावा बोल्न थालेका तालिबानहरूले त्यसपछि लगालग शहरहरूमा कब्जा जमाइरहेका छन्।

यसैबीच तालिबानहरूलाई हिंसा रोक्न दबाब दिने उद्देश्यले कतारको दोहामा बहुपक्षीय बैठक हुँदैछ। उक्त बैठकमा सहभागी हुन अफगानिस्तानका लागि अमेरिकाका विशेष प्रतिनिधि जालमे खालिलजाद दोहा पुगेका छन्।

उनले त्यहाँ उपस्थित तालिबान प्रतिनिधिलाई  सैन्य आक्रमण रोक्न र राजनीतिक समाधानका लागि वार्ता गर्न दबाब दिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।विभिन्न देशका सरकारी प्रतिनिधि र गैरसरकार संस्थाका प्रतिनिधि ‍सहभागी हुने उक्त बैठकमा तालिबानहरूलाई  हिंसामार्फत् सत्ता कब्जा गरे मान्यता नदिइने कुरा राखिने विदेश मन्त्रालयको भनाइ छ।

यसैबीच अमेरिकाले अफगानिस्तानमा पछिल्लो समय बढेको हिंसाले आफूलाई चिन्तित बनाएको बताएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले अब अमेरिकालाई अफगानिस्तानमा केही गर्न भने नसक्ने बताए। आफ्नो भूमि र नागरिकको रक्षा गर्ने जिम्मा अफगानीहरूको भएको उनले बताए।

अफगान सुरक्षाकर्मीले तालिबानलाई रोक्ने सकेनन् भने अमेरिकाले के गर्छ भन्ने प्रश्नमा उनले भने  ‘केही गर्न सक्दैन।’ यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को पुस्तालाई अफगान युद्धमा नपठाउने भन्दै अफगानिस्तानबाट सबै सैनिक फिर्ता ल्याउने निर्णय गरेका थिए।

अहिले अफगानिस्तानमा केही सयको संख्यामा अमेरिकी सैनिक छन्। उनीहरूलाई पनि अगष्ट ३१ सम्म फिर्ता बोलाउने अमेरिकाको तयारी छ। अमेरिकी र नाटो सैनिक फिर्ता भएपछि सुरूमा ग्रामीण इलाकामा कब्जा जमाएका तालिबानहरू अहिले लगालग प्रान्तीय राजधानी नियन्त्रणमा लिइरहेका छन्।   

प्रतिक्रिया दिनुहोस