कक्षा १२ को परिक्षा स्थगित गर्न सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, २१ : २३
कक्षा १२ को परिक्षा स्थगित गर्न सिफारिस

काठमाडौं । कोरोना संक्रमण दिन प्रति दिन बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो ।

बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र  केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो । तर पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ ।

मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो । त्यही अनुसार सीसीएमसीले शिक्षा मन्त्रालय पत्र पठाएको छ भने मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिएको छ । स्रोतका अनुसार मन्त्रालयले शुक्रबार ४ बजे नै बैठक राखेर निर्णय गर्न निर्देशन दिएको थियो ।

तर परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने भोलि शनिबार ११ बजे बैठक राखेका छन् । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अहिले भौतिक रुपमा परीक्षा गर्न सक्ने अवस्था नभएकाले अहिले निर्णय पुनर्विचार गर्नु भनेका छौं ।’उनका अनुसार ३१ साउनदेखि तोकिएको परीक्षा स्थगित हुन्छ । तर आन्तरिक मूल्यांकनकै आधारमा हुन्छ वा भोलिका दिनमा भौतिक रुपमा परीक्षा हुन्छ भन्ने चाहिं अझै टुंगो लागेको छैन । 

प्रतिक्रिया दिनुहोस