काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशन संवैधानिक समयसीमाभित्र गर्न असफल बनेको छ। संवैधानिक सीमा सकिन एक महिना मात्र बाँकी रहँदा पार्टीको क्रियाशील सदस्यतासमेत टुंगो लगाउन कांग्रेस असफल बनेको छ।
अब बाँकी समयमा क्रियाशील सदस्यता टुंगो लगाएर महाधिवेशन गर्न सम्भव देखिँदैन। तर, सभापति शेरबहादुर देउवाले अझै पनि भदौ १६ गतेदेखि नै महाधिवेश हुने भनिरहेका छन् भने नेता रामचन्द्र पौडेलले पनि पार्टीको वैधता जोगाउन महाधिवेशन गर्नुको विकल्प नभएको बताउँदै आएका छन्।
भदौ १६ गतेदेखि पार्टी महाधिवेशन गर्ने र गराउनुपर्ने भनी दुवै शीर्ष नेताहरूले बताउँदै आए पनि उनीहरूनिकट नेताहरू उक्त समयमा महाधिवेशन हुनेमा आश्वस्त देखिँदैनन्। अहिलेसम्म क्रियाशील सदस्यताको विवाद नटुंगेको अवस्थामा भदौमा महाधिवेशन गर्ने कुरा अब हास्यास्पद भएको जनाउँदै एक नेताले भने, ‘हुन्छ हुन्छ भन्दै भदौ १६ पुर्याउने अनि अब सकिँदैन विकल्प खोजौं भन्ने मनस्थितिमा नेतृत्व पुगेजस्तो देखिन्छ।’
बाँकी समयमा तल्लो तहका अधिवेशन सकिएको अवस्थामा पनि भदौ १६ देखि महाधिवेशन सम्भव नरहेको ती नेताले बताए। तर, नेता पौडेलले भदौपछि पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्ने बताउँदै महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको दाबी गरे। संविधानमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने उल्लेख भएको जनाउँदै पौडेलले उक्त समय सकिएपछि पार्टीको वैधतामाथि खतरा आउने दाबी गरे।
निर्वाचन आयोग र सर्वोच्च अदालतको कुनै भर नभएको बताउँदै उनले भने, ‘क्रियाशील सदस्यतासहितका विषय टुंगो लगाउँदा भदौभित्र महाधिवेशन गर्न सकिएन भने त्यसका लागि आवश्यक पर्ने समयका लागि विशेष महाधिवेशन गरेर दुईचार महिनाका लागि तदर्थ समिति गठन गर्नुपर्छ ।’
१३औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिका आधारमा केही समयका लागि तदर्थ समिति गठन गर्नुपर्ने बताउँदै उनले भने, ‘महाधिवेशन गराउन पूरा शक्ति लगाउन सभापतिजीलाई भनेको छु। भोलि ९शुक्रबार० क्रियाशीलको कुरा टुंगो लगाउने कुरा भएको छ हेरौं।’ तर, संस्थापन पक्षले भने नेता पौडेलसहित इतर पक्षले पुरानो निर्णय उल्ट्याएर महाधिवेशन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्। सदस्यता छानबिन समितिले टुंगो लगाएको क्रियाशील सदस्यताका विषयमा पनि प्रश्न उठाएर बखेडा झिकेको उनीहरूको आरोप छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २२ साउन २०७८, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अरू पार्टीमाथि प्रहार गर्नुभन्दा आफ्नो पार्टी सम्हाल्न उचित हुन्छ'
लिपुलेकबारे भारत र चीनले गरेको सम्झौता अस्वीकार्य : कांग्रेस
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा काँग्रेसले पनि जनायो असहमति