‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र

रासस

विहीबार, २१ साउन २०७८, १६ : २४
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र

काठमाडौं । पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा  भने उल्टो स्थिति देखापरेको छ । जुन शुरुवातीदेखि नै सेवाग्राहीका लागि छिटो होइन ढिलो र झन्झटिलो बनेको छ । प्रविधिको कारणले नभएर होइन यसको व्यवस्थापन सहज हुन नसक्दा वषौँदेखि सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाउन सकेका छैनन् ।प्रारम्भमा  छपाइ गर्ने उपकरण प्रिन्टरको क्षमता कम भएकाले सेवाग्राहीले वषौँसम्म कुर्नुपरेको थियो भने अहिले अनुमतिपत्र छाप्ने कार्ड नभएकाले ।  

पछिल्लो समय १४ लाख कार्ड खरिद गर्न गत माघमा फ्रान्सको सेल्प सास कम्पनीसँग सम्झौता भएको यातायात व्यवस्था विभागले जनाएको छ । सम्झौताअनुसार नै नमूना खाली कार्ड स्याम्पल ब्ल्याङ्क कार्ड विभागमा रहेको सफ्टवेयरमा परीक्षण गरिएको महानिर्देशक नमराज घिमिरेले बताए । उनका अनुसार अहिलेसम्म ‘पर्सनलाइजेसन’ मा समस्या देखिएकाले ढिलाइ भएकामा यसअघि ‘मास प्रिन्टर’ र कार्ड एउटै कम्पनीबाट खरिद गर्दा त्यसमा समस्या आएको थियो ।अहिले फरक कम्पनी हुँदा समस्या आएको हो ।महानिर्देशक घिमिरेले भने, “कम्पनीले ढिलाइ गरेकोभन्दा पनि प्रविधिकै कारण ढिलाइ भइरहेको हो ।”

समस्या समाधानका लागि पटकपटक विभागले अहिले कार्ड खरिद गरिएकोे कम्पनी र पहिले ‘मास प्रिन्टर’ खरिद गरेको कम्पनीबीच छलफल गरिरहेकोे जनाएको छ । पछिल्लो समय सेल्प सास कम्पनीले पाँच नमूना कार्ड पठाएकामा त्यसको परीक्षण सफल भएको जानकारी दिँदै उनले भने, “विभागमा भएको उपकरणमा ‘रिड’ भएकाले अब समस्या नहुने आशा छ ।”

अहिलेको समस्या झण्डै सकिएकाले एकडेढ महिनामा कार्ड आउने र त्यसको केही महिनामै वितरण गर्न सकिने छ । प्राविधक समस्या हटेपछि कार्ड छापेर दिन सकिन्छ । गत वर्ष बन्दाबन्दीको समयमा विभागले तीन सिफ्टमा अनुमतिपत्र छपाइ गरेको थियो । उनले भने, “अहिले पनि मास प्रिन्टरको क्षमताका आधारमा बाँकी अनुमतिपत्र छाप्न समय लाग्दैन ।”

अनुमतिपत्रका लागि परीक्षामा सामेल हुन अनलाइन फारम भरेका सेवाग्राहीको सङ्ख्या झण्डै चार लाख छ । अनुमतिपत्रको परीक्षा पास गरेका र नवीकरण गरी विभागले छाप्नुपर्ने छ लाख बाँकी छ । विभागले अहिले आकस्मिक छपाइ मात्रै गरिरहेको महानिर्देशक घिमिरेले बताउनुभयो । मिसनमा जाने प्रहरी र सशस्त्र प्रहरीलाई, विदेशमा अध्ययन वा रोजगारीका लागि जाने, केही विशेष छपाइ अनुरोध गरेकालाई मात्रै अनुमतिपत्र दिइएको छ । उनले भने, “पहिले अनुमतिपत्र छापेर दिइएकाको छापिँदा नै  बिग्रिएले ती पनि पुनः छपाइ भइरहेको  छ ।”

प्रतिक्रिया दिनुहोस