उखु किसान र सरकारी पक्ष बिच आज वार्ता हुँदै

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १० : ५०
उखु किसान र सरकारी पक्ष बिच आज वार्ता हुँदै

file photo

काठमाडौँ । उखुको बक्यौता भुक्तानीका लागि गठन भएको कार्यदल र उखु किसान बिच आज वार्ता हुने भएको छ । किसानले बक्यौता भुक्तानी नभए भदौ ५ देखि आन्दोलन गर्ने चेतावनी दिएपछि बस्न लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले आन्दोलनबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताए । उनले कार्यदलको बैठक बस्न लागेको र त्यसमा किसानका प्रतिनिधिलाई समेत बोलाइएको बताए।

कार्यदलको बैठकमा आए विभिन्न समस्यामा छलफल गर्न सकिने बताउँदै उनले बिहीबारको बैठकमा प्रतिवेदनमाथि छलफल हुने बताए । सरकार र उखु किसानबीच प्रतिवेदनका केही बुँदामा असहमति रहेको छ । त्यसै कारण उखु किसानले प्रतिवेदनमा हस्ताक्षर गर्न मानेका छैनन् । बिहीबारको बैठकमा जाने कि नजानेबारे छलफल भइरहेको किसान प्रतिनिधि राकेश मिश्रले बताए ।

उनले निमन्त्रणा भने आएको जानकारी दिँदै आन्दोलनको सुरसार हुने बेला केही गर्नेजस्तो गरिएको तर पछि सेलाउने गरेको गुनासो गरे । उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले सरकारले उद्योगीबाट जसरी पनि बक्यौता रकम दिलाइदिने भनी पाँचबुँदे सम्झौता गरेकामा त्यसअनुसार किसानले रकम नपाएपछि मन्त्रालयलाई पटकपटक जानकारी गराइएको र समस्या समाधान नभए आन्दालनमा जाने भनेर हिजो मात्रै मन्त्रालयलाई जानकारी गराएको बताए । 

आफूहरूले भदौ ५ सम्म बक्यौता रकम नपाए आन्दोलनमा जाने घोषणा गरेकोप्रति मन्त्रालयले चित्त पनि दुखाएको पनि उनको भनाई छ । प्रवक्ता रेग्मीले प्रतिवेदनले धेरै समस्या समाधान गर्ने भए पनि किसान आफैँले त्यसमा हस्ताक्षर गर्न नमानेपछि आफूहरूले केही गर्न नसकेको उनले बताए ।

तर किसान प्रतिनिधि मिश्रले प्रतिवेदनमा जे कुरा मुख्य रूपमा आउनुपर्ने हो त्यो नआएकाले हस्ताक्षर नगरेको बताए । उनका अनुसार किसानले पाउनुपर्ने ९० करोड रुपियाँमध्ये २५ करोड रुपियाँमा विवाद छ । त्यसबारे अध्ययन गर्ने भनिएको तर प्रतिवेदनमा त्यो विषय कतै उल्लेख नरहेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस