एसईई नतिजा नआउदै ११ मा धामधम विद्यार्थी भर्ना गर्दै छन् चितवनका निजी विद्यालय

अर्किड र वाल्मीकि शिक्षा सदनले महानगरलाई बुझाए स्पष्टीकरण

प्रकाश सिग्देल

मंगलबार, १९ साउन २०७८, १७ : ३८
एसईई नतिजा नआउदै ११ मा धामधम विद्यार्थी भर्ना गर्दै छन् चितवनका निजी विद्यालय

चितवन । स्थानिय निकायको शिक्षा निर्देशिका विपरित चितवनका निजी विद्यालयहरुले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् । भरतपुर महानगरले विद्यालयहरुमा अनुगमन गरि भर्ना नलिन निर्देशन गरेपनि विद्यालयहरुले भर्ना लिईरहेको अभिभावकहरुले बताए । एसईईको नतिजा सार्वजनिक नहुँदै भरतपुर महानगरमा रहेका  निजी विद्यालयले धमाधम कक्षा ११ मा  विद्यार्थी भर्ना लिईरहेका छन् ।

गत वर्ष कक्षा ११ मा अध्ययनरत  विद्यार्थीको परीक्षासमेत नभएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयले लुकिलुकि भर्ना गरिरहेको अभिभावकको गुनासो छ ।

यहाको अर्किड, अरोमा, वाल्मीकि, सनराईज, गुरुकुल, एपेक्स लगाएतका नाम चलेका विद्यालयहरुले प्रि रजिस्ट्रेसन गरिरहेको अभिभावकहरुले बताएका हुन ।उनीहरूले प्रि–रजिस्ट्रेसन र छात्रवृत्तिका लागि भन्दै अनलाइन परीक्षासमेत सञ्चालन गरेका छन । भित्रभित्रै प्रवेश परीक्षा नै लिएर विद्यार्थी भर्ना गर्न थालेको अभिभावकहरू बताउँछन ।

‘के आधारमा कुन विषय पढ्न रजिस्ट्रेसन गर्ने ? कुन आधारमा छात्रवृत्तिका लागि  विद्यार्थी छनोट गर्ने हो ? अहिले केही मेसो मेलो नभएको अभिभावकहरुले बताए । यस्ता गतिविधिले शैक्षिक प्रणालीमा नै असर गर्ने अभिभावकहरुको भनाइ छ । हिसानका  पदाधिकारीहरू सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन । शिक्षा मन्त्रालय र स्थानीय तहले मनोमानी गर्ने शिक्षण संस्थालाई नियमन र कारबाही गर्न नसक्दा हरेक वर्ष  विद्यार्थी–अभिभावकलाई अन्योलमा पार्ने र जथाभावी शुल्क असुल्ने प्रवृत्ति निजी विद्यालयले दोहोर्याउदै आएका छन् ।

‘अहिले हतार गरेर विज्ञान विषयमा रजिस्ट्रेसन गरौंला भोलि एसईईको नतिजा सोचे जस्तो नआए फेरि कुन कलेज खोज्दै हिँड्ने चुप लागेर घरमै बसौं सबै आफूले पढ्छु भनेको कलेजको सिट संख्या भरिएला निकै तनाबमा परियो’ अर्किड स्कुलमा भर्ना भएका एक विद्यार्थीले नाम उल्लेख नगर्ने सर्तमा बताए । शिक्षण संस्थाहरूले आफूखुसी भर्ना प्रक्रिया अघि बढाउँदा  विद्यार्थीहरू दुविधामा फसेको उनको भनाई छ  ।

कलेजले आफुहरुलाई रसिद समेत नदिएको र पछि कलेज सुरु भएपछि मिलाउला भनेर पठाएको अरोमा कलेजमा भर्ना बापत रकम बुझाएर बसेका एक विद्यार्थीले बताए । कलेजले भर्ना भएको भनेर बाहिर नभन्नु भनेर आफुहरुलाई भनेको ति विद्यार्थीको भनाई छ । विद्यालयहरुले धमाधम भर्ना गरि मनोमानी गरेको भनेर गुनासोहरु आएपछि भरतपुर महानगरको शैक्षिक प्रशासन  महाशाखाले ति विद्यालयहरुमा यस अघिनै अनुगमन समेत गरेको थियो ।

भर्ना गर्दै गर्दा रंगेहात समातिएको थियो अर्किड स्कुल

अनुगमनका क्रममा अर्किड स्कुलले भर्ना लिएको सप्रमाण फेला परकाले उसलाई स्पष्टिकरण सोधिएको महानगरका अधिकृत सातौ तह शिव प्रसाद ढुगांनाले बताए । कक्षा ११ मा अर्किडले भर्ना लिएको, कलेजको नाममा प्रचार गरेर विद्यार्थीमा भ्रम छरेको र छात्रबृति वितरण गर्दा मापदण्ड विपरित गरेको  उजुरी परेपछि आफुहरुले त्यहा अनुगमन गरेको ढुगांनाको भनाई छ । अनुगमनका क्रममा कलेजले विद्यार्थी भर्ना लिएको सप्रमाण भेटिएको उनले बताए ।अर्किडलाई आफुहरुले ३ दिनको समय सिमा दिएको र उसले आफुहरुलाई स्पष्टिकरण समेत बुझाई सकेको ढुंगानाको भनाई छ ।

महानगरले स्पष्टिकरण समेत सोधेको र उसले जवाफ समेत पेश गरेको ढुंगानाको भनाई छ । अर्किडका तर्फबाट प्राचार्य खेम प्रसाद आचार्यले ११ को भर्ना लिन रोकेको र यस अघि विद्यार्थीबाट लिईएको पैसा विद्यार्थीहरुकै नाममा विद्यालयको खातामा दायित्वका रुपमा राख्ने पत्र मार्फत लेखि पठाएको उनले बताए ।

वाल्मीकि शिक्षा सदनलाई महानगरको स्पष्टिकरण


महानगरले वाल्मीकि शिक्षा सदनले पनि भर्ना लिएको भेटिएपछि उसलाई पनि स्पष्टिकरण सोधेको थियो ।  वाल्मीकि शिक्षा सदनले पनि आफुले एस ईई रिजल्ट नआउदा सम्म अव भर्ना नगर्ने लिखित जवाफ महानगरलाई पठाएको देखिन्छ । महानगरको निर्देशन बमोजिम आफुहरुले कक्षा ११ को रजिस्ट्रेशन कार्य स्थगित गरिएको र  कक्षा १२ सम्मको सम्पुर्ण प्रशासनिक कार्यहरु माध्यामिक तहअनुसारनै गरेको प्राचार्य  प्रदिप पौडेलले महानगरमा पठाएको स्पष्टिकरण पत्रमा उल्लेख छ ।

स्वीकृत नपाएका पाठ्यपुस्तक लगाउदै प्याब्सन


निजी विद्यालयले मात्रै होईन विद्यालयहरुको छाता संगठनले पनि बदमासी गरेको पाईएको छ । निजी विद्यालयहरुको संगठन प्याब्सनले आफना विद्यालयहरुमा स्वीकृत नभएको पाठ्यक्रम लगाएर विद्यार्थीलाई किन्न बाध्य बनाएको भेटिएको छ । प्याब्सनले नियम बिपरित कार्य गरेको पाईएपछि महानगरले प्याब्सन महानगर समितिलाई पत्रनै काटेर स्वीकृत र अनुमति नभएको पाठ्य सामाग्रि नपढाउन र विद्यार्थीबाट फिर्ता गर्न निर्देशन नै दिएको छ । नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडयालले पत्र काटेर प्याब्सनलाई यस्तोे निर्देशन दिएका हुन् । प्याब्सनले आफु मातहतका विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्र र स्थानिय तहबाट स्वीकृत नभएको पाठ्यपुस्तक लागु नगराउन र पुस्तक फिर्ता गरि अभिभावकलाई पैसा समेत फिर्ता गर्न पनि आफुहरुले निर्देशन दिएको पौड्यालको भनाई छ । त्यस्तै साना बालबालिकालाई किताबको भारी नबोकाउन पनि विद्यालयहरुलाई महानगरले निर्देशन गरेको छ ।  

व्यापार र नाफामा मात्रै केन्द्रित हुदा समस्या 
व्यापार र नाफामुखी निजी विद्यालयले शैक्षिक गतिविधिलाई आफू अनुकूल प्रयोग गर्दै आएकाले शिक्षा पनि चरम ब्यापारमा परिणत भएको शिक्षा विद्हरु बताउछन् । कक्षा ११ मा बेमौसमी भर्ना खोलेर व्यापारमा प्रश्रय दिने काम यहाका विद्यालयहरुले गरिरहेका छन् । सरकारले विद्यालय शिक्षाको प्रणालीगत कमजोरी  सुधार गर्न नसक्दा पनि निजी शिक्षण संस्थाले फाइदा उठाइरहेका छन् । शैक्षिक गुणस्तर सुधार गर्नेभन्दा पनि भर्ना, परीक्षा लगायतमा केन्द्रित भएर निजी विद्यालयले नाफा आर्जनको बाटो मात्रै हेर्ने गरेको अभिभावकहरु बताउछन् । वैशाखदेखि ठप्प शिक्षण संस्था कहिले खुल्ने अनिश्चित छ । यस पटक ४ लाख १७ हजार एसईई परीक्षार्थीले विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र पाउदै छन् ।  साउनको अन्तिम सातापछि मात्र नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस