स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे कोभिड-१९ महामारीविरुद्ध २३ बुँदे कार्ययोजना सार्वजनिक (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १३ : २७
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले गरे कोभिड-१९ महामारीविरुद्ध २३ बुँदे कार्ययोजना सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले कोभिड-१९ महामारीविरुद्ध लड्नको लागि २३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री उमेश श्रेष्ठले कार्ययोजना सार्वजनिक गरे ।

राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजनामा आगामी माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने उल्लेख छ ।

कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकलाई आगामी १७ दिनभित्र दोस्रो डोज दिइने समेत राज्यमन्त्रीले जनाएका छन् । फाइजर, मोर्डना, जोन्सन र अस्ट्राजेनेकासहितको डेढकरोड डोज खोप खरिद सम्झौता भएको पनि उनले जनाएका छन् ।

विदेश जाने प्रयोजनका लागि आवश्यक खोप प्रमाणपत्र सरकारी अस्पतालबाट निःशुल्क र सहज तरिकाले वितरण गरिने पनि जनाइएको छ । पीसीआर र एन्टीजेन परीक्षणको दायरा पनि व्यापक वृद्धि गरिने जनाइएको छ ।

साउन २३ गतेदेखि २९ गतेसम्म मास्क सप्ताह कार्यक्रमको आयोजना गरी नागरिकलाई मास्क वितरण गरिने, प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य बीमा लागू गरिने पनि उल्लेख छ ।

कोरोनाको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै विदेशबाट आउनेका लागि होल्डिङ जोन स्थापना गर्ने, संक्रमितलाई आइसोलेसन र उपचारका लागि पठाइने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस