नातेदार र चिनजानेका व्यक्तिबाट महिला हिंसाका घटना बढे

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, ११ : ५६
नातेदार र चिनजानेका व्यक्तिबाट महिला हिंसाका घटना बढे

सांकेतिक तस्वीर

काठमाडौं । आफन्त तथा चिनजानकै मानिसहरुका कारण महिलाहरू विभिन्न हिंसाको सिकार भएको तथ्याङ्कले देखाएको छ  । तथ्याङ्कलाई आधार मान्ने हो भने अधिकांश महिलाहरु घरेलु हिंसाबाट पीडित छन् । महिला पुर्नंस्थापना केन्द्र ९ओरेक० दाङको तथ्याङ्कले त्यो कुरा देखाएको हो  ।

ओरेक दाङकी जिल्ला संयोजक ईश्वरी थापाले बितेको आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न खाले १ सय ९ वटा हिंसाका घटनाहरु भएको जानकारी दिइन् ।

जसमा धेरैजसो घरेलु हिंसा (कुटपिट, गालिगलौज, चारित्रिक आरोप, स्रोत सुविधाबाट बच्चित) का घटनाहरु ७५ वटा रहेका छन् । तर, गत वर्षको तुलनामा यो संख्या कम भएको थापाले बताइन् । ओरेकमा आर्थिक वर्ष २०७६/०७७ मा १ सय २५ वटा हिंसाका घटनाहरु दर्ता भएका थिए । जसमध्ये सबै भन्दा धेरै ९० वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका थिए ।

२०७७/०७८ मा सामाजिक हिंसा (गाली गलौज, कुटपिट) का १५ वटा ,जवरजस्ती करणीका १० वटा, बाल बिवाहका ३ वटा, यौन दुव्यवहारका २ वटा, आत्महत्याका २ वटा, जवरजस्ती करणी प्रयास सम्बन्धी एउटा र अन्य एउटा गरि ओरेकमा १ सय ९ वटा हिंसाका घटनाहरु दर्ता भएको तथ्याङ्क छ ।

पीडित महिलालाई ओरेकले न्यायिक निकाससम्म पुग्नका लागि आवश्यक सहयोग सँगै जोखिममा परेका महिलाहरुलाई सुरक्षा आवास गृहमा राखेर परामर्श गर्दै आएको संयोजक थापाले जानकारी दिइन् ।

ओरेकको तथ्याङ्कमा ६ वर्ष देखि ६० वर्ष माथि उमेर समुहका महिलाहरु बढी हिंसामा पर्ने गरेको उल्लेख छ ।

महिला हिंसा विरुद्ध र लैङगिक समानताका लागि निरन्तर गाउँ – गाउँसम्म पुगेर सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको भएपनि समाजमा रहेको पितृसत्तात्मक सोच, लैङ्गिक असमानता, अन्धविश्वास, अशिक्षा, यौन असन्तोष र दाईजो जस्ता कारणले हिंसाका घटना हुने गरेको थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस