माओवादीले कसरी टुंग्याउँदैछ मन्त्री ?

यि हुन् चर्चामा रहेका नाम

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, ०९ : ३८
माओवादीले कसरी टुंग्याउँदैछ मन्त्री ?

काठमाडौं । माओवादी केन्द्रले सम्भवतः आज पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नाम छिनोफानो लगाउने तयारी गरेको छ । स्थायी कमिटि बैठकमा आज उसले सम्भावित मन्त्रीहरुको बारेमा छलफल गरेर टुंगो लगाउने तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नतेृत्व गरेको २२ दिन पुगिसक्दा सम्म सरकार बिस्तार गर्न नसकेको भनि आलोचना बढिरहेका बेला अब उनी मन्त्रीपरिषद् बिस्तार तिर केन्द्रीत हुन थालेका छन् । सम्भवतः आज दलहरुले नाम र मन्त्रालयको भागवन्डा टुंगो लागेमा भोलिसम्म मन्त्रीपरिषद् बिस्तारको तयारी गरेका छन् ।

सत्ता निर्माणमा सहयोगी भूमिका खेलेको माधव नेपाल समुह सरकारमा सहभागी नुहने प्रचण्डलाई माधव नेपालले प्रष्ट जानकारी दिएपछि अहिले प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नेछन् । जसपा, काँग्रेस र माओवादी सरकारमा सहभागी हुनेछन् । नेपाल समुह र राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई सहयोगी मात्र बन्ने बताएपछि मन्त्रालय भागवन्डामा थप केही छलफल गर्नुपर्ने भएको छ ।त्यसका लागि प्रचण्ड, प्रधानमन्त्री देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल हुनेछ । त्यसपछि मात्रै दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाउने तयारी छ ।

प्रचण्डले पार्टीको स्थायी कमिटि बैठकमै हिजै आजको स्थायी कमिटि बैठकमा मन्त्रीहरुको नाममा छलफल गर्ने जनाउ दिईसकेका छन् । सत्ता गठबन्धन दलका नेताहरुसँग मन्त्रालयको भागवन्डा पहिले टुंगो लगाउने, त्यसपछि मन्त्रीहरुको सम्भावित सूची तयार पार्ने र त्यसलाई स्थायी कमिटिमा छलफलमा लागि लैजाने प्रचण्डको तयारी छ । सकभर ओली नेतृत्वको सरकारमा सहभागी नेतालाई मन्त्री नबनाउने, प्रदेशगत रुपमा नै सहभागितामूलक बनाउने, समानुपातिक समावेशी चरित्रको पनि बनाउने र अवसर नपाएका तर योग्यता क्षमता भएकालाई मन्त्रीमण्डलमा लैजाने र परिणाम पनि देखाउन सक्नेलाई सरकारमा पठाउने प्रचण्डको योजना छ ।

सकभर ओली नेतृत्वको सरकारमा सहभागी नेतालाई मन्त्री नबनाउने, प्रदेशगत रुपमा नै सहभागितामूलक बनाउने, समानुपातिक समावेशी चरित्रको पनि बनाउने र अवसर नपाएका तर योग्यता क्षमता भएकालाई मन्त्रीमण्डलमा लैजाने र परिणाम पनि देखाउन सक्नेलाई सरकारमा पठाउने प्रचण्डको योजना छ ।

माओवादीले यस अगाडी नै पम्फा भुसाल र जर्नादन शर्मा लाई मन्त्रीका रुपमा पठाईसकेको छ । भुसालले उर्जा, जलस्रोत र सिञ्चाई र शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । अब स्थायी कमिटिबाट निर्वाचित तर अहिलेसम्म मन्त्री बन्न नपाएका देवेन्द्र पौडेलको यो पटक सरकारमा सहभागिता सुनिश्चित जस्तै देखिएको छ । उनलाई प्रचण्डले यो पटक सरकारमा पठाउने तयारी गरेका छन् । अर्काेतिर सरकारको नेतृत्व गरेर कसलाई पठाउने भन्नेमा पनि प्रचण्डले नारायणकाजी श्रेष्ठ या हरिबोल गजुरेलमध्येबाट एकजनालाई पठाउने तयारी गरेका छन् । तर श्रेष्ठ समुहका नेतालाई मन्त्री बनाउनै पर्ने दवावमा परेका प्रचण्डले श्रेष्ठकै नेतृत्वमा सरकारमा पठाउने सम्भावना पनि अधिक रहेको बताइन्छ ।

प्रदेश एक बाट अमनलाल मोदी, सुदन किराँती, हिमाल, शिवकुमार मण्डल लगायतको नाममा छलफल छ । प्रदेश २ बाट मात्रिका यादवको नाम चर्चामा छ । तर उनी यस अगाडी ओली नेतृत्वको सरकारमा सहभागी भईसकेका नेता हुन् । प्रदेश २ बाट गिरिराजमणि पोखरेल, मात्रिका यादव र रामेश्वर राय यादव ओली नेतृत्वको सरकारमा सहभागी भएका नेताहरु हुन् । तर उनले ओली नेतृत्वको सरकारमा सहभागीलाई मन्त्री नबनाउने मापदण्ड कडाईपूर्व बनाएर लागु गरेमा यी नेताहरु सिफारिसमा पर्ने छैनन् ।

वाग्मती प्रदेशबाट हितबहादुर तामाङको नाम अग्रपंक्तिमा छ । तर भुसाल पनि वाग्मतीकै भएकोले के गर्ने भन्ने छलफल अझै जारी छ । वाग्मतीबाट शसि श्रेष्ठ, हरिबोल गजुरेल लगायत पनि मन्त्रीको चर्चामा छन् । गण्डकीबाट देवेन्द्र पौडेल सुनिश्चित जस्तै देखिएपनि नारायणकाजी श्रेष्ठ, हरि अधिकारी (कुमार) लगायतको मन्त्री बनाउनु पर्ने भन्दै लविङमा देखिएका छन् । प्रदेश ५ बाट बाँकेका महेश्वर गहतराज, जयपुरी घर्ती लगायतको नाम चर्चामा छ । कर्णाली प्रदेशवाट जर्नादन मन्त्री बनिसकेकोले अन्य नेताहरुको सम्भावना अहिले नदेखिएको बताईएको छ । सुदुरपश्चिमबाट हरि चौधरी र तारामान स्वारको नाम चर्चा छ ।

तर अब मन्त्रालय टुंगो लागेपछि प्रचण्डले पार्टी बैठकमा सम्भावित नामहरु छलफलमा लानेछन् । सहमति जुटेमा त्यही आधारमा नभए अध्यक्ष स्यवंले जिम्मा लिएर छलफलमा आएका नामबाट मन्त्री बनाउने तयारी माओवादी केन्द्रको रहेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस