अदुवाखेतीबाट आम्दानी बढ्दै जाँदा किसान उत्साहित

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १२ : ०१
अदुवाखेतीबाट आम्दानी बढ्दै जाँदा किसान उत्साहित

कैलाली । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् । 

कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए । उनले भने, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ ।”

कतारमा तीन वर्ष काम गरेर फर्किएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आप्mनै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापालन व्यवसाय शुरु गरेका छन् । आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको छु”, उनले भने, “खेती गरेर भएको नगद आम्दानीबाट जीविकोपार्जन भइरहँदा सन्तुष्टै छु ।” उनले तीन वर्ष मलेसियामा समेत काम गरेका थिए । 

सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ । यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन् । गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ । “छनोटमा परेका किसानलाई बीउबिजनको व्यवस्था गर्न अनुदान दिने गरेका छौँ”, वडा अध्यक्ष शाहले भने, “अदुवा, सुन्तला, केरा र बेमौसमी तरकारी उत्पादन र बिक्रीबाट किसानको आर्थिक समृद्धिमा टेवा पुगिरहेको छ ।” 

अदुवाको सुठो (चना) बनाएर बिक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ । कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन् । सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ । काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ ।

उत्पादनस्थल आसपासका बजारमा काँचो अदुवा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा बिक्री हुने गरेको छ । तराईका बजार क्षेत्रमा यतिबेला भने काँचो अदुवाको मूल्यप्रति किलो रु २०० भन्दाबढी पुगेको छ । काँचो अदुवा सुकाएर ससानो टुक्रामा चना बनाइन्छ । चनाको बजार मूल्य काँचो अदुवाको मूल्यको तुलनामा तेब्बर चौबर बढी पाइने गरेको बताइन्छ । 

“यतिबेला अदुवाको बोट निकै फस्टाएकाले उत्पादन गत वर्षभन्दा बढ्ने आशा गरेका छौँ”, किसान बमले भने, “किसान यतिबेला अदुवा गोडमेलमा लागेका छन् ।” 

प्रतिक्रिया दिनुहोस