दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ

रासस

विहीबार, १४ साउन २०७८, ०९ : २३
दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ

सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।

तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो ।

नियमितरूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले बताए । उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् । दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि घर पठाएको छ । पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ । बरामद गरिएका तासलाई प्रहरीको टोलीले जलाए छ । 

प्रतिक्रिया दिनुहोस