गण्डकी प्रदेशमा थ्रेस होल्ड हटाउन सरकारको पहल

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, १३ : १४
गण्डकी प्रदेशमा थ्रेस होल्ड हटाउन सरकारको पहल

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रदेश सभामा रहेका साना दललाई ‘थ्रेस होल्ड’ को दायराबाट बाहिर ल्याएर दलीय मान्यता दिलाउने दिशामा पहल थालेको छ ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफू नियुक्त हुनु अघि जनता समाजवादी पार्टी नेपालसँग थ्रेस होल्ड हटाउने लगायतका ४ बुँदे सहमति गरेका थिए । सोही अनुसार प्रदेश मन्त्रिपरिषदको बैठकले दोहोरो थ्रेस होल्ड अन्त्य गर्ने गरी दफा संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

संविधानअनुसार प्रदेशसभामा दलीय हैसियत पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट र कुल मतको डेढ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ । तर प्रदेशसभाको पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनमा भने १० प्रतिशत मत कटाएको हुनुपर्ने गरी थ्रेस होल्ड कायम गरिएको छ ।

प्रदेशसभामा १० प्रतिशत थ्रेस होल्ड कटाएका दललाई मात्रै दलको हैसियत दिइएकाले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशसभामा दलीय मान्यता र सुविधा पाउन सकेका छैनन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोहोरो मापदण्ड हटाउन आवश्यक कानुन संशोधन गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले पनि प्रदेशसभामा ठुला दल सरहकै मान्यता र सुविधा पाउने गरी थ्रेस होल्डको प्रावधान संशोधनका लागि प्रदेशसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको उक्त निर्णयको आधारमा अब प्रदेशसभामा सरकारका तर्फबाट नै यस सम्बन्धी दफा संशोधनका लागि पहल हुने भएको छ । प्रदेशसभामा दलीय मान्यता पाउने दलको संसदीय दलको नेता तथा प्रमुख सचेतकले थप सुविधा प्राप्त गर्छन् ।

प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका दुई र जनता समाजवादी पार्टी नेपालका दुई सांसद छन् । दलको प्रमुख सचेतकले सांसदको भन्दा थप ४ हजार रुपैयाँ मासिक पारिश्रमिक, निजी सचिवालय बन्दोबस्तीका लागि मासिक थप १७ सय ५० रुपैयाँ, एउटा गाडी र प्रतिमहिना ९० लिटर इन्धन सुविधा पाउँछन् ।प्रदेशसभाबाट विद्यमान कानुनी व्यवस्था संशोधन भएपछि दुई साना दलले ठुला दलसरहको सुविधा पाउनेछन् ।