माधव नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य छ : रघुवीर महासेठ

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १६ : ३०
माधव नेपाललाई बराबरी अध्यक्ष दिने सम्भावना शून्य छ : रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन् ।

उनले भने,‘कुनैपनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिईँदैन् । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन् । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन् ।’  

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले यस्तो बताएका हुन् । उनले अहिले माधव नेपाललाई अध्यक्ष दिनेगरि पावर सेयरिङमा छलफल भैरहेको भनेर बाहिर चर्चा भएपनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका छन् । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन् । अर्को अध्यक्ष वा सह–अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माधव नेपाललाई आम कार्यकर्तालेजस्तो मिडिया फेश गर्नुभन्दापनि लो–प्रोफाईलमा बस्न सुझाव दिए । उनले भने,‘एमालेमा मैले सबैभन्दा बढि सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिलेपनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन् ।’  

नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो/चाँडो एकता भईछाड्ने पनि दाबी गरे । उनले नेकपा (एमाले) बनाउनको लागि माधव नेपालको ठूलो भूमिका रहेको भन्दै आफ्नो पार्टीलाई कमजोर बनाउने गतिविधिमा नलाग्नपनि आग्रह गरे । उनले भने,‘एमाले बनाउन तपाईँको ठूलो भूमिका छ । अब अर्काको घरमा पेन्ट गर्न नजानुहोस् । आफ्नै घरलाई बलियो बनाउनतर्फ लाग्नुहोस् ।’ उनले अहिले देशी तथा विदेशी र प्रतिक्रियावादी शक्तिहरु एमालेको एकता नहोस भनेर हात धोएर लागिपरेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ताहरु सचेत हुनुपर्ने धारणा राखे । 

उनले एमालेमा फर्किँदा कतै नेता तथा कार्यकर्ताले अपमान गर्छन् कि भन्ने चिन्ता नलिन पनि आग्रह गरेका छन् । उनले भने,‘तपाईँहरुलाई पार्टीमा हामी उत्तिकै सम्मान गर्छौं । यसमा कुनै द्धिविधा नहोस् ।’ उनले एमाले कुनैपनि हालतमा विभाजन नहुने जिकिर गरे । उनले भने,‘नेपाली जनता, एमालेका समर्थक, शुभेच्छुक, कार्यकर्ता कसैले पनि एमाले विभाजन होस भन्ने चाहँदैनन् । यसप्रति सबै सचेत हुनुपर्छ ।’ अहिले एमालेको तल्ला तहदेखि माथिल्लो तहसम्मले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताको लागि दबाब दिएको पनि स्मरण गराए । नेता महासेठले अहिले पार्टी एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवै जना आन्तरिक छलफलमा रहेको पनि सुनाए । 

उनले पार्टीभित्र अहिलेको परिस्थिति सिर्जनामा हुनुमा २०७७ पुष ५ गतेतर्फ फर्कनुपर्ने सुनाए । उनले भने,‘जतिबेला हामी पार्टीको स्थायी कमिटीको बैठक बसिरहेका थियौं, यतिवेला केही सांसदहरु संसद्को विशेष अधिवेशन बोलाउनको लागि राष्ट्रपतिकहाँ जानुभएको थियो, जुन कुरा बैठकमा थाहा भयो, त्यसबारे पनि व्यापक छलफल भएको थियो । साथीहरुले तत्कालिन प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव हाल्नेगरि संसद्को विशेष अधिवेशन बोलाउन माग गर्नुभयो, त्यही कारणले संसद् भंग भएको हो । यो तितो यर्थाथ हो । अहिले बाग्मतीमा धेरै पानी बगिसेको छ ।’ देशी÷विदेशी शक्तिहरुले पार्टी विभाजन गर्न चाहेको र पार्टीका बहुसंख्यक नेता तथा कार्यकर्ताहरु फुटको विरोधमा उभिएकै परिस्थितिमा दोस्रो पटक संसद् विघटन भएको उनले श्रृंखला सुनाए । 

नेता महासेठले एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् बचाउनको लागि आफूहरुले यो कदम उठाएको भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाईएकोबारे टिप्पणी गर्नुमा पनि कुनै सत्यता नभएको दाबी गरे । उनले भने,‘यदि यो कुरामा सत्यता भएको भए एमालेको सांसदले आफ्नै पार्टीको सरकारलाई विश्वासको मत दिईहाल्थे नि । माधव नेपाल एमालेको सांसद हुनुहुन्छ। तर, उहाँको गतिविधि भने अरुले एमाले फुटाउन चाहेकोमा सहयोग पुर्याउने खालको देखियो । जुन अत्यन्तै विडम्बनापूर्ण छ । एमालेको सांसदले त एमालेको सरकारलाई विश्वासको मत दिनुपर्दथ्यो नि । तर, उहाँहरुले संसद् बचाउनको लागि अदालत गयौं भन्नुभयो । यसमा कुनै सत्यता छैन् । यो संसदीय राजनीतिक अभ्यासमा एउटा फोहोरी खेलबाहेक केही पनि होईन् ।’ 

उनले एमाले एकताको विकल्प नभएको भन्दै यसको लागि सबै जिम्मेवारी हुनुपर्ने धारणा राखे । उनले माधव नेपाल पक्षको एक्सन नेपाली जनता र पार्टी पँक्तिले वाच गरेको पनि सुनाए । उनले पार्टी एकताको प्रयास भैरहेको बेला एकले अर्को समूहमाथि गालीगलौच गर्ने र शक्ति प्रदर्शन गर्ने काम गर्दा बनिरहेको वातावरण र विश्वासमा संकट पैदा हुने भन्दै त्यसतर्फ सबै सचेत र गम्भीर बन्नुपर्ने पनि तर्क गरे । 

उनले युवा संघ र युथफोर्स पार्टीकै जनवर्गीय संगठन भएपनि अहिले प्रभु साहको नेतृत्वमा गठन गरिएको आईटी आर्मीको औचित्य नै नभएको र पार्टीले नचिन्ने टिप्पणी गरे । उनले भने,‘यसमा हाम्रो पार्टी एमालेको टाढाटाढाको पनि सम्बन्ध छैन् ।’ उनले पार्टीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको विकल्प नभएको पनि जिकिर गरे । र, दोस्रो पुस्ताले हस्तक्षेप गर्ने कुरा पनि असम्भव भएको उनको टिप्पणी छ । 
उनले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलाशले हालै दिएको फैसलाप्रति आफूहरुको रिजर्भेशन रहेको भएपनि आत्मासात् गरिएको सुनाए । उनले भने,‘तर, सर्वोच्च अदालतको ईजलाशले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार फैसला गरेन भनेर जनताले टिप्पणी गरेका छन् । हुन पनि जनताले यो अपेक्षा गरेका थिएनन् ।’ उनले परमादेशबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भनेर फैसला आउनुभन्दा अघि नै कुरा चुहाईएको पनि उल्लेख  गरे । 

उनले भने,‘यो कुरा किन चुहाईएको थियो भने वातावरण बनाउन रहेछ, एमाले सर्वोच्च अदालतको फैसलाको विरुद्धमा छैन् । र, जाँदैन पनि । हामीले त यो निर्णयलाई आत्मसात् गरिसकेका छौं । तर, हाम्रो यसमा रिजर्भेशन छ । व्यक्तिगत रुपमा मेरो पनि कुनै कमेन्ट छैन् । तर, जनताले प्रश्न उठाएका छन् ।’ उनले सर्वोच्च अदालतको फैसलामा प्रत्येक वाक्यमा राजनीतिक भाषा राखिएको पनि टिप्पणी गरे । नले भने,‘त्यो भाषा पनि उहाँहरुको हो कि होईन ? त्यो पनि आँफै लेखेको हो वा अरुले लेखेर ल्याएको पढेर सुनाईयो ? संसारमा कुनैपनि अदालतमा राजनीतिक निर्णय हुँदैन् । तर, सर्वोच्च अदालतको यो फैसलाले व्यवस्थापिक र कार्यापालिकामाथि आक्रमण गरेको छ ।’ उनले सर्वोच्चले संसद पूनःस्थापनामात्रै गरिदिएको भए जनताले पनि यसमा कुनै आपत्ति जनाउने थिएनन् भन्ने धारणा राखे । तर, रेफ्रीले खेल हेर्ने र अनुशासन हेर्नुपर्नेमा आँफै गोल गर्ने काम गर्नु गलत भएजस्तै सर्वोच्च अदालतले पनि व्यक्तिको नाम नै तोकेर प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिनु कतिको जायज हो ? भन्दै प्रश्न उठाए । 

नेता महासेठले कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेको आज दुई हप्ता बितिसक्दापनि अझैसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्रीको आलोचना गरे । उनले भने,‘देउवाजी अदालतको परमादेशले प्रधानमन्त्री हुनुभयो । तर, सरकार गठन गर्न अझै सक्नुभएको छैन् । कि मन्त्रिपरिषद विस्तार गर्नपनि अदालतको फैसला आउनुपर्ने हो र ?’ उनले कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव, एमालेको माधव नेपाल समूह र जनमोर्चाको गठबन्धन धेरै लामो समय नजाने ठोकुवा गरे । उनले भने,‘उहाँहरुको यो गठबन्धन क्षणिक हो । उहाँहरुबीच विचारधारा नै मिल्दैन् । हिजो कांग्रेस र माओवादीको पनि गठबन्धन हामीले हेरेकै हो । एमाले र माओवादीको गठबन्धन पनि धेरै लामो समय गएन । यो गठबन्धत त पद र प्रतिष्ठाको लागि मात्रै हो । यो लामो समय जाँदैन् ।’

उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरेका कामको लोकप्रियता देखेर विपक्षी दल आँत्तिएको पनि उनले विगत स्मरण गराए । उनले भने,‘त्यही भएर उहाँहरु हाम्रो सरकार ढाल्ने षड्यन्त्रमा लाग्नुभयो । उनले अहिले सत्तारुढ गठबन्धनमा मन्त्री बन्ने आकांक्षीहरु धेरै रहेको पनि सुनाए । उनले भागबण्डाको विवादको कारण पनि वर्तमान सरकार धेरै लामो समय नजाने दाबी गरे । उनले भने,‘अब मन्त्री बन्नकै लागि त्यहाँ विद्रोह सुरु हुन्छ । यो गठबन्धन टुट्न धेरै समय लाग्दैन् ।’ यद्धपी उनले आफूहरुले देउवा सरकारले संसद्को बाँकी कार्यकाल नै चलाओस भन्ने चाहना राखेको भन्दै शुभकामना पनि दिए । उनले भने,‘देउवाजीले पूरा अवधि चलाउनुहोस भन्ने हाम्रो शुभकामना हो । तर, उहाँले चलाउन सकनुहुन्न ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने हल्ला पनि चलेको उल्लेख गर्दै यस्तो सपना नदेख्न चेतावनी दिएका छन् । उनले भने,‘राष्ट्रपतिमाथि महाभियोग लगाउने हल्ला यो त प्रोपोगाण्डामात्रै हो । यो सम्भव छैन् । महाभियोग लगाउन त्यति सजिलो छैन् । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो ।’ 

उनले कांग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरुलाई राष्ट्रपतिमाथि महाभियोग लगाएर मात्रै हेर्न चूनौति दिए । उनले भने,‘महाभियोग लगाएरमात्रै हेर्नुहोस, त्यसपछिको स्थिति के हुन्छ ? हुन त उहाँहरुसँग संख्या पनि पुग्दैन् । महाभियोग लगाएरमात्रै के गर्नु ? त्यो पारित हुन संख्यापनि पुग्नुपर्यो नि । पास हुँदैन् ।’ तर, सभामुखमाथि महाभियोग लगाईए अवस्था के हुन्छ ? भन्दै उनले भने,‘धेरै साथीभाईहरुमाथि पनि महाभियोग लाग्न सक्छ ? छोएर त हेर, लगाएर त हेर ? म चुनौति दिन चाहन्छु ।’ 

नेता महासेठले आगामी चुनावसम्म ओली, माधव नेपाल र प्रचण्ड एकै ठाउँमा उभिने पनि खुलासा गरे । उनले भने,‘उहाँहरु मिल्नुको विकल्प छैन् । कम्युनिष्टहरु मिल्नुपर्छ । हेर्नुहोस, हिजो माओवादी केन्द्रलाई त हामीले जीवनदान दिएका हौं । त्यो कुरा उहाँहरुलाई राम्रोसँग थाहा छ । त्यसैले हामी सबै कम्युनिष्ट एक ठाउँमा उभिनुको विकल्प छैन् । हामी चाहन्छौं कि सबै कम्युनिष्टहरु एक हौं ।’ 

उनले निवर्तमान प्रधानमन्त्री ओलीले साँढे तीन वर्षको अवधिमा धेरै राम्रो काम गरेको दाबी गरे । उनले ८०÷९० प्रतिशत राम्रो काम गरेको दाबी गरे । तर, काम गर्दै जाँदा दुई÷चार वटा गल्ती भएको होला भन्ने उनको भनाई थियो । उनले ओली सरकारले नै कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेकोले वर्तमान सरकारले यसमा उचित तवरले वितरण गरोस र सबै जनताले भ्याक्सिन लगाउन पाउने वातावरण बनाउनुपर्ने पनि धारणा राखे । तर, भ्याक्सिनमा पोलिटिक्स गरिए राम्रो नहुने उनको भनाई छ । 

उनले वर्तमान प्रधानमन्त्री जनादेशबाट नभई परमादेशबाट आएकोले लक्षण राम्रो नदेखाएको टिप्पणी गरे । उनले भने,‘उहाँ जनादेशबाट नभई परमादेशबाट आउनुभएको हो । अहिले उहाँ जनतामा जान पनि अप्ठ्यारो मानिरहनुभएको छ । देउवाले जनतालाई फेश गर्न सकिरहनुभएको छैन् ।’