नेपाल जनस्वास्थ्य प्रतिष्ठानले चितवनमा तेस्रो चरणको परियोजना सञ्चालन गर्दै, विषादी रहित खाद्य वस्तु उत्पादन र उपभोगमा जोड

प्रकाश सिग्देल

आइतबार, १० साउन २०७८, १८ : ३३
नेपाल जनस्वास्थ्य प्रतिष्ठानले चितवनमा तेस्रो चरणको परियोजना सञ्चालन गर्दै, विषादी रहित खाद्य वस्तु उत्पादन र उपभोगमा जोड

चितवन । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले चितवनमा तेस्रो चरणको परियोजना सञ्चालन गर्ने भएको छ । चितवन जिल्लामा विषादी न्युनिकरणका क्षेत्रमा विगतमा धेरै काम गरेको  र पुनः विषादी न्युनिकरण गरी अर्गानिक उत्पादनमा किसानलाई अग्रसर बनाउन तेस्रो चरणको कार्यक्रमको सुरुवात गर्न लागिएको नेपाल जनस्वास्थ्य प्रतिष्ठानकी अध्यक्ष एवं पोषणविद् डा. अरुणा उप्रेतीले बताइन् ।

चितवन जिल्लाका स्थानीय सरकारका प्रतिनिधिविच विषादी न्यूनीकरण सम्बन्धी योजना तर्जुमा तथा अन्र्तक्रिया कार्यक्रम गर्ने, किसानलाई अर्गानिक उत्पादनमा अग्रसर बनाउन प्राबिधिक ज्ञानहरु प्रदान गर्ने, विद्यालयका शिक्षकहरुलाई तालिम दिने देखि विषादी न्यूनीकरणसम्बन्धी विभिन्न योजना बनाएर कार्यान्वयनमा ल्याउने उद्धेश्य सहित तेस्रो चरणको कार्यक्रमको सुरुवात गरिएको उनको भनाई छ ।

किसानबाट उत्पादन हुने खाद्य वस्तु स्वच्छ र विषादी रहित भए त्यसले क्यान्सर जस्ता खतरनाक रोगबाट मानिसलाई बचाउने र स्वस्थ्य भोजनले मानसिक तथा शारिरिक विकासमा पनि धेरै मद्धत गर्ने भएकाले विषादी रहित खाद्य वस्तु उत्पादनमा किसानलाई अग्रसर बनाउनु नै आफुहरुको मुल उद्धेश्य रहेको उप्रेतीले बताइन् ।
यस अघि संस्थाकै पहलमा  भरतपुर महानगरको तरकारी बजारमा विषादी मापन प्रयोगशाला स्थापना समेत भएको थियो । त्यस्तै बिषादी न्युनिकरणका लागि कार्ययोजना सहितको निर्देशिका तयार गरी प्रदेश सरकारलाई हस्तान्तरण समेत भएको थियो ।

आइ.पि.एम र प्राङगारिक उत्पादनमा जोड गर्दै  बिक्रि वितरणलाई सहजीकरण गर्न स्टल तथा बजारको व्यवस्थापन गर्ने, विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक असरहरुबारे आम मानिसलाई सचेतना दिने  र समग्र उपभोक्ता सचेतनाका लागि विभिन्न सार्वजनिक स्थलहरुमा जनचेतनामूलक कार्यक्रमहरु गर्ने आफुहरुको कार्यक्रम रहने परियोजना प्रवन्धक मेसान राइले बताए । चितवनमा उत्पादन हुने खाद्य वस्तुलाई विषादी रहित बनाउने उद्धेश्य अन्तर्गत आफुहरुले समुदाय स्तर र किसानको खेत खेतमा पुगेर सचेतना जगाउने बताए ।

चितवनमा अत्याधिक मात्रामा तरकारी र फलफुल लगायतका खाद्य वस्तु उत्पादन हुने भएकाले त्यसलाई विषादी रहित बनाउन किसानलाई अग्रानिक उत्पादनमा अभिप्रेरीत गर्दै स्वच्छ खाद्य बस्तु खान पाउने उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्धेश्य अन्तर्गत आफुहरुले तेस्रो चरणमा पनि काम थालेको परियोजना अधिकृत उसा न्यौपानेले बताइन् ।

प्रतिक्रिया दिनुहोस