ढोंगी प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनमा संकटमा पर्यो : चित्रबहादुर केसी

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १५ : २०
ढोंगी प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनमा संकटमा पर्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । जनताले मत दिएर पठाएपनि ओली सरकारले राम्रो काम गर्न नसकेको उनले बताए ।

ओली सरकारले संविधान नै च्यात्न खोजपछि संघर्षमा जानुपरेको र अदालतको फैसलाले संविधानको रक्षा गरेको उनले बताए ।  ‘हामीले समर्थन गरेका हौं । तर तिघ्रामा पिप जम्मा भएमा निचोरेर फाल्नुपर्छ ।

एमालेभित्रैका साथीहरुले संघर्ष गर्नुभयो । धर्म निरपेक्षता, गणतन्त्र लगायत उपलब्धिहरुलाई बचाउने काम भयोे । संसद् कम्तिमा १८ महिना बच्ने भयो,’ केसीले भने,‘अहिले आएर उहाँहरु  न्यायपालिकाबाट प्रधानमन्त्री बनाउने व्यवस्था कहाँबाट आयो भन्दै हुनुहुन्छ ? त्यो संविधान बनाउने बेला त उहाँ पनि हुनुहुन्थ्यों । हामीले मिलेर बनाएको होइन ?’

ढोंगी प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनमा संकटमा परेको उनले बताए । ‘व्यक्तिगत सम्पत्ति जोड्ने, नातागोतालाई च्याप्ने, प्रतिक्रियावादीहरुका दर्शन र सिद्धान्त बोक्ने अनि आफुलाई कम्युनिष्ट पनि भनिरहने, नाम कम्युनिष्ट नै राख्नेहरु छन् । यस्तो कुराले संकट निम्त्यायो,’ उनले भने ।

संसदीय व्यवस्थाले केही गर्न सक्दैन भन्ने कुरा सैद्धान्तिक रुपले ठिक भएपनि व्यवहारिक ढंगले सोच्दा तत्कालै जनवादी क्रान्ति गर्न संभव नरहेको उनले बताए ।

‘संसद्मा पैसा खर्च गर्ने मान्छे नै जाने हो, खर्च गरेपछि कमाउनुपर्यो । म पनि गएँ, देखेको छु नि १  योभन्दा राम्रो व्यवस्था पनि हुन्छ, त्यो समाजवाद हो । हामी यही बसिरहने होइन, अगाडि जाने नै हो,’ उनले भने,‘ तर अहिले यहाँ भएका विकृति र विसंगतीको विरोध गर्ने हो । राम्रा कुराहरूको समर्थन गर्ने हो । संविधानमा लेखिएको संघीयताबारे राष्ट्रिय जनमोर्चाको ठूलो विमति छ । तर, यहाँ धेरै राम्रा कुराहरु छन् । ती कुराहरूको हामीले समर्थन गर्नैपर्छ ।’

प्रतिक्रिया दिनुहोस