काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र बैंकले यस्तो स्पष्टीकरण दिएको हो ।
राष्ट्र बैंक र नेपालका बैंकहरुको प्रणाली सुरक्षित रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘अपरिचत व्यक्तिबाट फोन र इमेल आयो, त्यसपछि हामीले आफ्नो र सबै बैंकको प्रणाली परीक्षण गर्यौं, सबै ठिक पाएका छौं,’ गभर्नर अधिकारीले भने ।
बैंकले प्रयोग गर्ने फायर वालहरु सुरक्षित र ठिक अवस्थामै पाएको र अन्य बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित रहेको जानकारी केन्द्रीय बैंकलाई गराएको गभर्नर अधिकारीले बताए । यस्ता धम्कीहरुबाट सचेत रहनुपर्ने भन्दै गभर्नर अधिकारीले यसबाट बिचलित नहुन आग्रह गरे ।
नेपाल राष्ट्र बैंकसहित चल्तिका १४ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै बुधबार बेलुकी धम्की आएको थियो । अपरिचत व्यक्तिबाट फोन र इमेलबाट राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सूचना अधिकारी नारायण प्रसाद पोख्रेललाई धम्की आएको राष्ट्र बैंकले जनाएको छ ।
बुधबार साँझ अपरिचत व्यक्तिबाट ह्याक गर्ने धम्कीसहित जिमेलमा इमेल आएको नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले पनि बताए । ‘मलाई बुधबार साँझ जिमेलमा एउटा इमेल आयो, उक्त इमेलमा नेपालका १५ बैंकहरु ह्याक गर्ने धम्की उल्लेख छ,’ प्रमुख कार्यकारी निर्देशक शाहले भने । उस्तै व्यहोराको इमेल नेपाल राष्ट्र बैंकका अधिकारीलाई पनि आएको जानकारी आफूले पाएको शाहले बताए ।
अपरिचित इमेलबाट आएको धम्कीपछि बैंकको प्राविधिक पक्षको रिभ्यू गरिरहेको र हालसम्म कुनै समस्या नोटिस नभएको शाहले बताए । धम्कीबारे नियमक र सम्बन्धित सबैलाई जानकारी गराइएको भन्दै शाहले चोरले पहिल्यै घोषणा गरेर चोरी नगर्ने भन्दै सचेत भने हुनुपर्ने बताए । ‘कुनै टोलमा चोरले म आज राति चोर्छु भन्यो भने टोलवासी टोलै छोडेर भाग्नु भन्दा पनि सतर्क रहनु पर्छ,’ कार्यकारी निर्देशक शाहले भने ।
ह्याकरहरुले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाम उल्लेख छ । अपरिचत इमेलमा २४ घण्टाभित्र ह्याक गर्ने धम्की दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी