कार्यदल भंग भएपनि एमाले विवाद मिलाउन पुनः दुवै समुहका दोश्रो तहका नेताबिच सिंहदरबारमा छलफल

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १० : ४१
कार्यदल भंग भएपनि एमाले विवाद मिलाउन पुनः दुवै समुहका दोश्रो तहका नेताबिच सिंहदरबारमा छलफल

काठमाडौँ । एमाले विवाद मिलाउन गठित कार्यदल भंग भएपनि समस्या समाधान गर्न केपी ओली र माधव नेपाल पक्षका नेताहरु पुनः छलफलमा जुटेका छन् । दुवै पक्षका नेताहरु सिंहदरबारमा बैठक बसिरहेका छन् । 

सत्ताबाट हटेसँगै निवर्तमान प्रधानमन्त्री ओलीले सरकार गिराउन आफ्नै पार्टीका नेता माधव नेपाल रहेको भन्दै अब उनको लागि पार्टीमा कुनै स्थान नरहेको बताएपछि पार्टी पुनः विभाजन तर्फ धकेलिएको छ । स्रोतका अनुसार अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधकुमार नेपालका तर्फबाट भीम आचार्यसहित ७ जना नेताहरु छलफलमा जुटका छन् ।

संसद बचाउन गठनबन्धनको सरकारलाई साथ दिने कि पार्टी बचाउने भन्ने दोधारमा रहेका नेपाल पक्षका नेताहरुले फेरि ओलीपक्षका नेताहरुसँग संवाद अघि बढाएका छन । शुक्रबार आफूहरुको आग्रह अनुसार ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित नगरेपछि नेपाल पक्षका नेताहरु निराश भएका थिए।

ओलीले एमाले विवाद समाधान सम्बन्धी कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन गर्दै कार्यदल भंग भएको घोषणा गरेका थिए। पार्टी फुटलाई टार्न नसक्ने स्थितिमा पुगेको उनीहरुले बताएका थिए। नेता नेपालसँग उनीहरुको लामो संवादसमेत भएको थियो। 

प्रतिक्रिया दिनुहोस