नयाँ उचाईमा मेस्सी, १० औँ प्रयासमा मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

एजेन्सी

आइतबार, २७ असार २०७८, ०९ : २४
नयाँ उचाईमा मेस्सी, १० औँ प्रयासमा मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

काठमाडौं । १० औँ प्रयासमा लियोनल मेस्सीले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

कोपा अमेरिका र विश्वकप फुटबलमा लगातार प्रयास गर्दा पनि राष्ट्रिय सफलता हाल पार्न नसकेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई अन्ततः क्षेत्रीय प्रतिस्पर्धाको उपाधि दिलाउन सफल भएका हुन् ।

समकालीन खेलाडीहरुमा मात्रै होइन, सर्वकालीन खेलाडीहरुकै सूचीमा अग्रस्थानमा छन्, मेस्सी । तर, यी जादुयी क्षमताका फुटबलर आफ्नो देशका लागि भने अपेक्षित योगदान दिन चुकिरहेका थिए । उनको नेतृत्वमा अर्जेन्टिनाले अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलको कुनै पनि ठूलो उपाधि जित्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।

तर, मेस्सीले अन्ततः आलोचकको मुख बन्द गरिदिएका छन् । ब्राजिलमा भएको दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता (कोपा अमेरिका) मा आयोजक टिमलाई १-० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ ।

२०१४ मा मेस्सी कप्तानीको अर्जेन्टिना उपविजेता बन्यो विश्वकपमा । २०१८ को विश्वकपमा मेस्सीसहितको अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो । उनले विश्वकपमा खेलेका १९ मध्ये १२ र कोपा अमेरिकामा खेलेका ३४ मध्ये २१ खेल जितेका छन् ।

मेस्सीले राष्ट्रिय टिमबाट ७६ गोल गरेका छन् । पछिल्लोपटक जुलाई ३ मा भएको कोपा अमेरिका क्वाटर फाइनलको खेलमा इक्वेडरविरुद्ध उनले गाेल गरेका थिए ।

भलै ब्राजिलविरुद्ध आज भएको फाइनलमा मेस्सीले गोल गरेनन् । तर, उनका लागि आज गोलभन्दा जित महत्वपूर्ण थियो । यस प्रतियोगितामा अर्जेन्टिनालाई फाइनलसम्म डोहोर्‍याएको मेस्सीले नै हो ।

अर्जेन्टिना फाइनलसम्म आउँदा उनले चारपटक म्यान अफ द म्याचको पुरस्कार जिते । ४ गोल र ५ असिस्ट गरे । फाइनलमा पनि उनको नियमित प्रभाव थियो नै । त्यसैले यो उपाधिको सबैभन्दा ठूलो श्रेय मेस्सीलाई नै जान्छ ।