तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

एजेन्सी

शुक्रबार, २५ असार २०७८, १७ : ४४
तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

अफगानिस्तान । तालिबानले इरानसँग जोडिएको सीमास्थित इस्लाम कला शहरको महत्वपूर्ण बोर्डर क्रसिङमा बिहिबार कब्जा गरेको अफगानिस्तानको हेरात प्रान्तबाट आइरहेको खबरमा उल्लेख गरिएको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै यो कुराको दाबी गरेका हुन् । यद्यपि, अफगान अधिकारीले अहिलेसम्म यसबारे आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन । तर समाचार एजेन्सीले नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् ।

दुई वरिष्ठ सुरक्षा अधिकारीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा सीमा पोस्टमा कब्जापछि अफगान सुरक्षाकर्मी र कस्टम अधिकारी इरानी सीमामा भागेको जानकारी दिएका छन् ।

इरानको अरबी भाषाको अल–आलम टिभीले पनि अफगान सैनिकले सीमा पार गरेको बताएको छ । यद्यपि, गृहमन्त्रालयका प्रवक्ता तारिक एरिनले यो खबरलाई खण्डन गर्दै पोस्ट अहिले पनि अफगान बलको हातमा भएको दाबी गरेका छन् ।

यसअघि हेरतमा एक नाम नखुलाईएका अधिकारीले बीबीसीसँगको कुराकानीमा इस्लाम कलाको स्थिति गम्भीर भएको बताए । ताजिकिस्तानको सीमासँग जोडिएको शेरखान र अकिया सीमा क्रसिङमा कब्जापछि तालिबानको कब्जामा आएको यो तेस्रो बोर्डर क्रसिङ हो ।

इस्लाम कला इरान र अफगानिस्तानबीच एक महत्वपूर्ण आर्थिक सीमा हो जो हेरातबाट पाँच किलोमिटर टाढा छ । केही दिन अघि पनि इस्लाम कलाको कुदुसाबाद बजारमा तालिबानको हमलाको खबर आएको थियो ।

प्रतिक्रिया दिनुहोस