बागमती प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक ४ बजे बस्दै

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १५ : ४७
बागमती प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक ४ बजे बस्दै

file-photo

बागमती । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउसो ४ बजेका लागि सारिएको छ । आज दिउँसो १ बजेका लागि तोकिएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्राविधिक कारण भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो ४ बजेका लागि सारेका हुन् ।

भोलि शनिबार ३ बजे बस्ने प्रदेशसभाको बैठकको एजेण्डा तय गर्नका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो ।  बैठकमा गत शनिबारबाट अवरुद्ध प्रदेशसभा सञ्चालन, बजेटको विनियोजन माथिको छलफल सञ्चालन लगायतका विषयमा निर्णय हुने प्रदेशसभा सचिवालयले जनाएको छ । 

गत शनिबारबाट बागमती प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरिरहेका छन् । प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदूर किसान पार्टीले लगातार अवरोध गरिरहेका हुन् ।

विपक्षी दलहरुले प्रदेश सरकारको बजेट कार्यक्रमका बारेमा २ प्रकारका पुस्तक प्रकाशन गरी वितरण गरिनु, विपद् व्यवस्थापन र कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारले चासो नदिएको, विपद् व्यवस्थापनको बजेट सिधै स्थानीय तहहरुमा पठाउनुपर्नेमा सरकारले संघीयता विपरित जिल्ला प्रशासन कार्यालयमा पठाएको, सशर्त तर्फको बजेट र योजनाको बाँडफाँटमा सत्तापक्ष र प्रतिपक्षका सांसद् र स्थानीय तहहरूबीच विभेद गरेको, प्रदेश सरकार मातहतमा आमसञ्चार गृह सञ्चालन गर्न बजेट विनियोजन गरेको भन्दै विरोध गरिरहेका छन् ।

ती दलले विद्युतीय बस खरिद प्रकृया र सुरुङ मार्ग निर्माणको निर्णय फिर्ता गर्न माग गर्दै बैठकमा अवरोध गरिरहेका छन् । ती मागहरु पुरा नभएसम्म विपक्षी दलहरुले संसद् चल्न नदिने बताउँदै आएका छन् भने सत्तापक्ष कुनै पनि अवस्थामा असार मसान्तभित्र प्रदेश सरकारको बजेट पास गर्ने दाउमा छ ।